काठमाडौं, १० माघ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ ।
देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको हो । यसै अवसर पारेर काठमाडौंको सहिदगेट र टेकूस्थित पिपलबोटमा रहेका चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा बिहीबार माल्यार्पण गरिएको छ । जहाँनिया राणा शासनको विरुद्धमा आन्दोलनमा होमिदा विक्रम संवत १९९७ साल माघ १० गते शुक्रराज शाष्त्रीलाई टेकूस्थित पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
त्यसै घटनालाई स्मरण गर्दै विक्रम संवत २०१२ सालदेखि प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदको सम्झनामा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालको पहिलो सहिद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विक्रम संवत १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । देशका लागि जीवन दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।