प्रदेश सरकारद्वारा संविधान विपरित कानुन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ९ माघ । प्रदेश सरकारले संविधान विपरित कानुन निर्माण गरिरहेको विज्ञहरुले औंल्याएका छन् । स्थानीय तह पुनर्संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले कतिपय प्रदेश सरकारले संविधान विपरित कानुन, नीति र कार्यक्रम तय गरिरहेको बताए ।

बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संविधानभन्दा बाहिर गएर कानुन बनाउने, नीति र कार्यक्रम तय गर्ने काम प्रदेश सरकारलाई गर्न नदिन पनि समितिका सदस्यहरुको गम्भिर ध्यानाकर्षण गराए ।

पौडेलले प्रदेश सरकारका लागि आवश्यक अधिकार तत्काल हस्तान्तरण गर्न संघीय सरकारलाई पनि सुझाव दिए । संघीय सरकारले आवश्यक अधिकार हस्तान्तरण नगरेकै कारण प्रदेश सरकारको कामकार्वाही प्रभावकारी हुन नसकेको उनको भनाई छ ।

पूर्वअध्यक्ष पौडेलले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्न आवश्यक ऐन बनाउन ढिलाई नगर्न पनि संघीय सरकारलाई सुझाव दिए । प्रदेश सरकारले केन्द्र सरकारसँग समन्वय गर्ने आधिकारिक निकाय नभएकाले पनि दुई तहको सरकारबीच समन्वयको अभाव देखिएको उनको भनाइ छ । प्रदेश सरकारले संघीय सरकारको कुन निकायसँग सम्पर्क गरेर अघि बढ्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्न संघीय सरकारलाई पौडेलको सुझाव छ ।

बैठकमा समितिका सदस्यहरुले संघीय मामलाका विज्ञ पौडेलसँग संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको समन्वयका बारेमा जिज्ञासा राखेका थिए । समितिकी सदस्य धनकुमारी खतिवडाले स्थानीय, प्रदेश र केन्द्र सरकारबीचको कामको बाँडफाँडको उचित व्यवस्थापन गर्ने विधि र प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए ।

उनले स्थानीय तहको उपमेयरमाथि धेरै कार्यबोझ रहेको उल्लेख गर्दै त्यसलाई कम गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य खिमलाल भट्टराईले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले संघीय सरकारले वित्तिय हस्तान्तरणको बाटोलाई सहज नबनाएकाले प्रदेश र स्थानीय सरकारलाई बजेटको अभाव हुन गएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);