काठमाडौं, २ माघ । माघ २ गते, राष्ट्रिय भूकम्प सुरक्षा दिवस । वि.सं १९९० माघ दुई गते सोमबारे औंसीको दिन महाभूकम्प गएको थियो । नेपालमा त्यसअघि र पछिपनि पटक–पटक भूकम्प गएर ठूलो जनधनको क्षति भएको थियो ।
पृथ्वी भित्रको हलचलका कारण आउने भूकम्पलाई रोक्न सकिने कुरा नभएपनि हामीले प्राकृतिक बिपतलाई रोक्न मानिसहरु नै संबेदनशील र सचेत हुनुपर्ने गृहमन्त्री राम बहादुर थापाको भनाइ छ । बुधबार काठमाडांैको भुगोलपार्कमा आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले धर्तीमाथि हामीले भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु बनायौं भने त्यसबाट हुने क्षति न्यून गराउन सकिने बताए ।
विपद्बाट सुरक्षित हुने नागरिकको अधिकार सुरक्षित गर्नु सरकारको दायित्व भएको मन्त्री थापाको भनाइ छ । प्रकृतिमाथि बिजय प्राप्त गर्नु चुनौतिको रुपमा रहेको भन्दै थापाले नागरिकको सुरक्षाको लागि तीन तहकै सरकारको समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट हुने क्षति र त्यसको न्यूनीकरणको लागि नयाँ संकल्प आवश्यक रहेको भन्दै भूकम्पबाट क्षति भएको भौतिक पुनर्संंरचनाको निर्माणलाई तिव्रता दिएको जानकारी गराए ।
घरमा प्रयोग हुने घरायसी समानहरुको प्रयोग गर्दापनि भूकम्पको जोखीम नहुने समानहरुको प्रयोग गर्नुपर्ने र यस्ता सरसमानहरुले पनि जोखिमलाई न्युनीकारण गर्न मद्दत पुग्ने विज्ञहरुको सुझाव छ ।
बिपद जुनसुकै बेला र जस्तोसुकै अवस्थामा पनि आइपर्ने हुनाले यसको लागि घरघर मै जनचेतना अभिबृद्धि गर्नुपर्ने सहभागीहरुको भनाई छ । जनमानसमा सचेतना जगाउन विसं २०५५ देखि राज्यबाटै यो दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो दिवस मनाउन किन आवश्यक छ भन्ने पाठ हामीलाई विसं २०७२ मा गएको विनाशकारी भूकम्पले सिकाइसकेको छ ।