काठमाडौं, ३० पुस । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, तथा वातावरण सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला मन्त्री विजय यादवमाथि कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपीट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका हुन ।
आईतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए । कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुले दोषीमाथि कडा कार्वाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका हुन ।
कर्मचारीहरुमाथि पटक–पटक दुर्व्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
यता, मन्त्री लालबाबु पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कार्वाही गर्ने प्रतिवद्धता जनाए । उनले घटनाका सम्बन्धमा छानवीन गर्न प्रदेश २ को सरकारले छानवीन समिति गठन गरेको उल्लेख गर्दै प्रतिवेदन आएपछि दोषीमाथि कार्वाही गर्ने बताए ।
मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । उनले सो घटनाबाट उत्तेजित नहुन कर्मचारीहरुलाई आग्रह गरे ।




