काठमाडौं, १० पुस । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले फागुन २० गते सम्ममा संविधानसंग बाझिएका सबै ऐन संशोधन विधेयक पास भईसक्ने विश्वास व्यक्त गरेका छन् ।
संसदीय मामिला पत्रकार समुहका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिदै सभामुख महराले संवैधानिक व्यवस्था अनुसार केही नेपाल ऐनलाई संशोधन गर्न बनेका सबै विधेयकलाई सरकारले हिउँदे अधिवेसनमा पेस गर्ने विश्वास आफुले लिएको बताए ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेका ५५ विधेयक र १ खारेज गरि ५६ वटा विधेयक सचिवालयमा दर्ता भईसकेको उल्लेख गर्दै उनले संघीय संसदको यो अधिवेशन एजेण्डा विहिन नहुने बताए ।
आफुले आवश्यक विधेयक समयमै ल्याउन प्रधानमन्त्री र कानुनमन्त्रीको ध्यानाकर्षण गराईसकेको भन्दै उनले सरकारले पर्याप्त छलफल गर्ने गरि समयमै विधेयक संसदमा पेश गर्नेमा आफु विश्वस्त रहेको बताए ।
भोलि बुधबार देखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरुले बोल्ने, राष्ट्रियसभाबाट प्राप्त विधेयक टेबुल हुने र कर्मचारी समायोजन अध्यादेश पेश हुने कार्यतालिका रहेको भन्दै उनले त्यसपछिका बैठकमा सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल प्रक्रिया अघि बढाईने जानकारी दिए ।
बुधबार नै बस्ने दोश्रो बैठकमा पुर्व सांसदहरु पद्मरत्न तुलाधर, चक्र बास्तोला, मोतीदेवी चौधरीको शोक प्रस्ताव पेश गरिने छ । सभामुख महराले यस अधिवेशनमा सांसदका आफ्नै प्रस्तावहरु मन्त्रीहरुसंगको प्रश्नोत्तर लगायत सांसदलाई जीवन्त बनाउने कार्यक्रमलाई प्राथमिकता दिईने बताए ।
हिउँदे अधिवेशन प्रारम्भको पहिलो बैठक भएकाले बुधबारको बैठकको सुरुमा सभामुख महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र पढेर सुनाउनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसदको अधिवेश आव्हान गर्ने संवैधानिक व्यवस्था छ ।




