काठमाडौं, ७ पुस । संसद्को अर्थ समितिले मेलम्ची खानेपानीमा देखिएको अन्योल तत्काल अन्त्य गरी काम सुचारु गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले आयोजनाको लागत नबढ्ने गरी काम सुचारु गर्न निर्देशन दिएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालले तत्काल सुचारु गर्न निर्देशन दिएका हुन् । ‘जसरी पनि काम सुचारु गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना हो, काम सञ्चालन गर्नुपर्छ ।’
समितिमा बोल्ने अधिकांश सांसदहरूले इटालियन कम्पनी (सीएमसी) ले आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दा समेत सम्बन्धित मन्त्रालयका प्रतिनिधिले थाहा नपाएको भन्दै आपत्ति प्रकट गरे । पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्र पाण्डेले कम्पनीले काम सिध्याएर पैसा बुझ्ने बेला टाट पल्टेको घोषणा गर्नुको रहस्य पत्ता लगाउनुपर्ने बताए ।
‘अन्तिम अवस्थामा आएर टाट पल्टेको घोषणा गर्नु, अनि पुन: मन्त्रालयले त्यसैसँग वार्ता गर्नुको अर्थ के हो ?’ उनले भने, ‘पटकपटक समय सीमा निर्धारण गरेर पानी ल्याउँछौं भन्छन् जनतालाई झुटो आवश्वासन बाँड्छन् ।’
पूर्व अर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री र सचिवले प्राविधिक कुरा देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिनेगरेको आरोप लगाए । ‘सार्वजनिक रूपमै ६० दिनभित्र पानी ल्याउँछौं भनेर घोषणा गर्नुहुन्छ, ठेकेदारले आर्थिक रूपमा टाट पल्टेकोघोषणा गर्छ,’ उनले भने, ‘यो त यहाँहरूको काम गर्ने शैलीप्रति नै विश्वसनीयता भएन ।’
आयोजना ४/५ वर्ष पर धकेलिए काठमाडौं मृत सहरमा परिणत हुने उनले बताए । ‘सरकारले तत्काल निर्णय लिएर पानी ल्याउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘जति ढिलाइ गर्यो त्यति नै समस्या उत्पन्न हुन्छ ।’ टाट पल्टेको कम्पनीसँग वार्ता गर्नुको कुनै औचित्य नै नभएको भन्दै उनले अन्य विकल्प खोज्नुपर्ने सुझाए ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।