बुलेट अभावले ग्यास ढुवानीमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बुलेट अभावले ग्यास ढुवानीमा समस्या

nepal gas

काठमाडौं, २ पुस । खाना पकाउने एलपी ग्यास ढुवानीका लागि भारतीय बुलेटको नै भर पर्नुपरेको नेपालमा अहिले ग्यास ढुवानी गर्ने बुलेट नपाउँदा ढुवानीमा समस्या भएको छ ।

ग्यास ढुवानी गर्ने बुलेट अभावमा नेपालमा ग्यास आयात पनि घटेको ग्यास उद्योगहरुले बताएका छन् । नेपाली बुलेटबाट नै ग्यास ढुवानी गर्ने सरकारले तयारी गरे पनि अहिले नेपाली नम्बरको ग्यास बुलेट नेपालमा नआएका कारण ढुवानीमा समस्या भएको हो ।

मनोज ग्यास उद्योगका सञ्चालक एवं वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दासले भारतीय कम्पनीहरुको टेण्डरमा बुलेट गएकोले र बरौनी रिफाइनरीमा भन्दा हल्दियाबाट ग्यास ढुवानी गर्दा फाइदा हुने भएकोले बढी हल्दियातर्फ आकर्षित हुँदा बुलेट अभाव भएको बताए । उनका अनुसार बरौनीबाट एक दिनमै ग्यास लिएर आइपुग्छ भने हल्दियाबाट पाँच दिनमा मात्रै नेपाल आइपुग्छ ।

लामो दूरीको ढुवानीमा बढी बचत हुने हुँदा ग्यास ढुवानी गर्ने बुलेटहरु बरौनी भन्दा हल्दिया जान चाहन्छन् । तर, नेपालका लागि भने बरौनी रिफाइनरीबाट नै सहज र सस्तो पर्छ । नेपाल आयल निगमले पनि बरौनी रिफाइनरीबाट नै धेरै ग्यास ढुवानी गर्दै आएको छ ।

ढुवानी गर्ने भारतीय बुलेटहरु अहिले टेण्डरका लागि भारततिर नै रहेकोले ढुवानीमा कमी आएको बारा (लियो) ग्यासका सञ्चालक निर्मल सिन्धीले बताए । उनले भने, “नोभेम्बर–डिसेम्बरमा भारतीय बुलेटहरु ढुवानी टेण्डरका लागि राख्ने गरेकाले नेपालतिर ग्यास लिएर नआउँदा कम भएको हो ।

नेपाल आयल निगमले ढुवानीका लागि बुलेट पठाउन पत्राचार गरेको भएपनि ग्यास बुलेट नहुँदा पठाएका छैनन् ।” उनका अनुसार पहिलेदेखि ग्यास ढुवानी गर्ने व्यवसायीहरुले अहिले गाडी दिन सकेका छैनन् । केही नयाँ ढुवानीकर्ताहरुसँग पनि सम्पर्क गरेर केही राहत भने भएको छ । भारतीय बुलेट अभावमा नेपालमा दुई महिनायता ग्यास आयातमा कमी आएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगन्जले भने ग्यास आयातमा कमी नआएको बताएको छ । क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख जगदीश यादवले औसत दैनिक ५०÷६० वटा बुलेट आयात भइरहेको बताए । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेको अधिकांश ग्यास उद्योगहरुले पहिलेको अनुपातमा अहिले ग्यास बुलेट कम आएको बताएका छन् ।

यो खबर आजको कारोबार दैनिकमा छपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);