आयातमा दुई, निर्यातमा एक नम्बर प्रदेश अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आयातमा दुई, निर्यातमा एक नम्बर प्रदेश अगाडि

pradesh1

काठमाडौं, २ पुस । बाहिरी मुलकबाट वस्तु तथा सेवाको आयात गर्नेमा प्रदेश नम्बर दुई अग्रस्थानमा रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गरेको अध्ययनअनुसार सबैभन्दा धेरै सामान आयात गर्नेमा दुई नम्बर प्रदेश छ ।

अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेश आर्थिक रुपमा पछि परेकाले पनि ठूलो परिमाणमा आयात गर्ने गरेको पाइएको छ । आयात धेरै गर्ने दुई नम्बर प्रदेश छ भने आयात नै नगर्ने प्रदेशमा गण्डकी र कर्णाली प्रदेश रहेका छन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा २ नम्बर प्रदेशले सबैभन्दा धेरै पाँच खर्ब ६४ अर्ब ४२ करोड २८ लाख २० हजार रुपैयाँको सामान आयात गरेको छ ।

सो प्रदेशले पाँच खर्ब रुपैयाँको आयात गरिरहेका बेला १८ अर्ब ९९ करोड ५४ लाख ३७ हजार रुपैयाँको निर्यात गरेको तथ्यांक छ । कुल आयातमा ४५ दशमलव ३३ प्रतिशत आयात २ नम्बर प्रदेशले गर्ने गरेको छ । केन्द्रका वरिष्ठ तथ्यांक अधिकृत कृष्णराज बजगार्इंले सबैभन्दा धेरै वस्तु आयात गर्नेमा २ नम्बर प्रदेश रहेको बताए । आर्थिक रुपमा पछि परेको सो प्रदेशले छिमेकी मुलुक भारत नजिक रहेकाले पनि धेरै वस्तुको आयात गर्ने गर्छ ।

यस्तै पाँच नम्बर प्रदेशमा एक वर्षमा २ खर्ब ९६ अर्ब २८ करोड ६५ हजार २८ लाख रुपैयाँको सामान आयात भएको छ । सो प्रदेशले ६ अर्ब २१ करोड ६६ लाख ७७ हजार रुपैयाँको निर्यात गरेको छ । यस्तै १ नम्बर प्रदेशले १ खर्ब ९२ अर्ब ६७ करोड ९ लाख ९२ लाख रुपैयाँको सामान आयात गरेको छ । १ प्रदेशले ३१ अर्ब ३७ करोड ३४ लाख ७ हजार रुपैयाँको सामान निर्यात गरेको छ । सुदूरपश्चिम प्रदेशले १ खर्ब ८३ अर्ब २८ करोड ७६ लाख ९ हजार रुपैयाँको सामान आयात गरेको छ । सो प्रदेशले सात अर्ब ७६ करोड ६ करोड ८ हजार रुपैयाँको सामान निर्यात गरेको छ ।

यस्तै तीन नम्बरले प्रदेश १ खर्ब ७३ अर्ब ७३ करोड ९७ लाख २ हजार रुपैयाँको सामान आयात गरेकोमा २३ अर्ब ९६ करोड ६२ लाख ९९ हजार रुपैयाँको सामात निर्यात गरेको केन्द्रको तथ्यांक छ । गत आर्थिक वर्षमा १२ खर्ब ४५ अर्ब १९ करोड २४ लाख सात हजार रुपैयाँको वस्तु तथा सेवाको आयात भएकोमा ८१ अर्ब ३२ करोड ५३ लाख ७८ हजार रुपैयाँको निर्यात भएको थियो ।

मुलुकमा वर्षेनी आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । स्वदेशी वस्तुको लागत महँगो, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, उच्च गुणस्तरको वस्तु नहुनु लगायतका विभिन्न कारणले गर्दा स्वदेशी वस्तु निर्यात बढ्न सकेको छैन । आयात बढ्दै गएकाले मुलुकको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ ।

यो खबर आजको कारोबार दैनिकमा छपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);