काठमाडाैं । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन । बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।
नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले बताउनुभयो ।
उहाँले ग्यास बजारमा चरम अभाव हुँदा घरमा परिवारको बिचल्लि हुने अवस्था आएको बताउनुभयो । घरमा एउटै सिलिण्डर भएकाले सकिसकेकाले घरमा बिचल्लि अवस्था आएको घिमिरेले बताउनुभयो ।
बजारमा नेपाल ग्यास कहीँ कतै नपाएपछि बालाजु औद्योगिक क्षेत्र भित्र रहेको कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिलका प्रेम साहले आफू काठमाडौंमा ब्याकको काम गर्ने गरेको र डेरामा ग्यास सकिएको र समयमै नपाएको बताउनुभयो । उहाँले नेपाल ग्यास नपाएपछि आगोमा पकाएर जीविकोपार्जन गरिरहेको बताउनुभयो ।
उपभोक्ता शाहले भन्नुभयो–‘ग्यास सकिएको छ । दाउरामा पकाएर खानुपरेको छ । एक घण्टादेखि ग्यास लिन नेपाल ग्यासको कम्पनीकै कार्यालयमा आएको अहिलेसम्म पाएको छैन । तिन दिन भइसक्यो ग्यास भ्याइएर खोजिरहेको नेपाल ग्यास कही पाइन । एउटा मात्रै सिलिण्डर थियो । आज त ग्यास लिन खान नखाइ आएको हो ।’ आफूले कहिकतै ग्यास नपाउँदा बिजोग भइरहेको उहाँको भनाइ छ ।
अर्का उपभोक्ता धार्दिङ घर भइ हाल काठमाडौंमा बस्दै आउनुभएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताउनुभयो ।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ । नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताउनु भयो । उहाँकाअनुसार त्यो मात्रमा ढुवानीमा केही समस्या रहदा समस्या भएको हो । अहिले समस्या हल भएपनि बजारको चक्र केही गढबढ भएकाले त्यसले पुरानै अवस्थामा आउन केही दिन लाग्ने बताउनुभयो ।
सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताउनु भयो । जाडो महिनामा यो संख्या अझ बढ्छ । पछिल्लो दिनमा जति डिमाण्ड हो त्यो भन्दा बढि नै ग्यास बजारमा उहाँको दाबी छ । बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदैछ । अहिले आत्तिनुपर्ने स्थीति छैन । ग्यास रेगुलर आउन थालिसकेको छ । अहिले आवश्यकता भन्दा बढी ग्यास भरेर राखिएका कारणले पनि अभाव देखिएको उहाँको दाबी छ ।
उहाँले चुनाव पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताउनु भयो । निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।





