काठमाडाैं ।
सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिनुभयो । उहाँले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताउनु भयो । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ । ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो ।
सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उहाँले बताउनु भयो । ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उहाँले जानकारी दिनुभयो । तीन पाङ्ग्रे सवारीमा हुने भीडभाड र दुर्घटनाको जोखिम कम गर्न चार पाङ्ग्रे सवारी आवश्यक रहेको उहाँले बताउनु भयो । यसले ट्राफिक जाम कम गर्न समेत सहयोग पुग्ने उहाँको भनाई छ । उहाँकाअनुसार यो सवारी निर्माणको अन्तिम चरणमा छ, अब काठमाडौंको सडकमा परीक्षण गरेर यातायात व्यवस्था कार्यालयमा दर्ताका लागि लैजाने उहाँले जानकारी दिनुभयो ।
सवारीको विशेषता
सुन्दर अटो इन्जिनियर प्रा.लि.ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने, सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्नसक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले जानकारी दिनुभयो । भविष्यमा यसलाई दुर्गम क्षेत्रसम्म पुग्नेगरी विकास गर्ने योजना रहेको थापाले सुनाउनु भयो । एक सवारी निर्माण गर्न सात दिनको समय लागेको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा नै उपलब्ध जनशक्तिले यो सवारीको एसेम्बल गरिएको हो । ठूलो परिमाणमा उत्पादन गर्दा दुई दिनमै सवारी तयार गर्न सकिने अध्यक्ष थापाले बताउनु भयो । उहाँकाअनुसार गाडीको डिजाइन भारतमा तयार गरिएको हो भने गाडीको बडी डिजाइन, वायरिङ र अधिकांश संरचना नेपालमै तयार गरिएको हो । हामीले प्रयोग गरेका सबै पार्टपुर्जामा एनएस प्रमाणपत्र प्राप्त सामग्री मात्रै प्रयोग गरेका छौँ,’ उहाँले भन्नुभयो । भैरहवामा कार एसेम्बल भएपनि सार्वजनिक यातायातका लागि १४ सिटर ईभी सवारी उत्पादन गर्ने पहिलो प्रयास आफूहरूले गरेको थापाको दाबी छ । सरकारले गाडीलाई मान्यता र सहजीकरण गरिदिए आउँदो वर्ष ठूलो संख्यामा यस्ता सवारी उत्पादन गर्न सक्ने उहाँले बताउनु भयो । उहाँले सवारीको मूल्य भने सरकारी परीक्षणपछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।
कानून नै सबैभन्दा ठूलो वाधक
ईभी सवारी उत्पादन तथा एसेम्बलमा कानूनी जटिलता मुख्य चुनौती बनेको थापाको भनाइ छ । नेपालमा बनेका पुराना कानुनको परिमार्जन नहुँदा नवप्रवर्तकको लागि समस्या भएको उहाँले बताउनु भयो । प्रविधिको विश्वव्यापी युगमा नेपालको कानून भने समयसापेक्ष नभएको अध्यक्ष थापाले गुनासो गर्नुभयो । सरकारले राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा नीतिगत रूपमा हतोत्साहित गर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले कानून परिवर्तनशील भएपनि नेपालमा भने एक पटक बनाएको कानून कहिल्यै फेर्न हुँदैन भन्ने सोचले विकास रोकिएको थापाको आरोप छ । अध्यक्ष थापाले वर्तमान सरकारप्रति भने केही आशा रहेको बताउनु भयो । अध्यक्ष थापाले गाडी एसेम्बल गर्ने नीति भएपनि त्यसलाई सहजीकरण गर्न आवश्यक छ । यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारीलाई ईभीमा रुपान्तरण गर्ने अहिलेको व्यवस्था पनि अव्यवहारिक रहेको उहाँले बताउनु भयो । उहाँकोअनुसार हाल तीन वर्षका लागि मात्र ईभी बनाउन दिने प्रावधान छ । ‘कसले तीन वर्षका लागि १०–१५ लाख खर्च गरेर ईभी बनाउँछ ?’ उहाँको प्रश्न छ ।




