काठमाडौं, २४ मंसिर । संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कार्वाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ ।
संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले मुलुकमा बढ्दो हत्या, हिंसा, चोरी, डकैदी नियन्त्रणका लागि आवश्यक सजगता र सतर्कता अपनाउन पनि नेपाल प्रहरीलाई सचेत गराएको छ ।
निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कार्वाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिनु परेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन् । समितिले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नेपाल प्रहरीलाई सतर्क रहन पनि सचेत गराएको छ ।
बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्को आलोचना गरेका थिए । जवाफमा प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्याराको खोजी कार्य जारी रहेको बताएका छन् ।
उनले सो घटनालाई प्रभावित तुल्याउने गतिविधि हुन नदिन समितिसँग आग्रह पनि गरे । महानिरीक्षक खनालले नेपाल प्रहरीले सो घटनाको अनुसन्धानको कामलाई आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ गरिरहेको खनालको भनाइ थियो ।
सिसीटिभी लगायतका अनुसन्धानलाई सहज बनाउने संयन्त्र नभएकाले सो घटनाको अनुसन्धानलाई टुंगोमा पु-याउन समय लागेको उनको भनाई थियो ।
प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्यारालाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि समिति समक्ष पटकपटक दोहोराएका थिए ।