दसैं आउन एक महिना बाँकी छँदै हवाई टिकट बुकिङ प्याक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

दसैं आउन एक महिना बाँकी छँदै हवाई टिकट बुकिङ प्याक

काठमाडौं, १२ भदाै ।  दसैं आउन एक महिनाअघि नै आन्तरिक उडान गर्ने जहाज कम्पनीले टिकट बुकिङ भइसकेको जनाएका छन् । घटस्थापनादेखि टीकाको भोलिपल्टसम्मका टिकटमा ७० देखि शतप्रतिशत बुकिङ भइसकेको एयरलाइन्स कम्पनीले बताएका छन् । विगतमा एक महिनाअघि २० प्रतिशत मात्रै टिकट बुकिङ हुने भए पनि यस वर्ष सुगम र पहाडी क्षेत्रमा उडान गर्ने जहाजको टिकट बुकिङमा चाप देखिएको छ ।

 

नेपालीको महान् चाड र पर्यटक सिजन एकैपटक पर्ने भएकाले पनि टिकट बुकिङ ह्वात्तै बढेको यती एयरलाइन्सका बजार व्यवस्थापक भीम राईले जानकारी दिए । ‘तुम्लिङटारको टिकट सकिइसकेको छ’, राईले भने, ‘ विराटनगर, भरतपुर, जनकपुर, भद्रपुर र पोखराका लागि ३० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ ।’ धनगढी, नेपालगन्ज र भैरहवाको टिकट पाउन सहज भए पनि अन्य ठाउँको टिकट बुकिङ सकिसकेको उनले बताए । यती एयरलाइन्सले एउटा एटीआर र ६ वटा जेट स्ट्रिम विमानमार्फत आन्तरिक उडानतर्फ आठवटा गन्तव्यका सेवा दिइरहेको छ ।

 

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरलायन्सले नौवटा जहाजमार्फत सेवा दिँदै आएको छ । बुद्ध एयरलाइन्सका मार्केटिङ म्यानेजर विनीता थापाले तुम्लिङटार, भरतपुर र सिमराका लागि शतप्रतिशत टिकट बुकिङ भइसकेको बताइन् । त्यसबाहेक विराटनगर, भद्रपुर, पोखरा, नेपालगन्ज, धनगढी जाने जहाजको ३० प्रतिशत टिकट मात्रै बाँकी रहेको उनले बताइन् । बाँकी रहेका गन्तव्यका टिकट पनि केही दिनभित्रै बुकिङ भइसक्ने लक्षण देखिएको उनको भनाइ छ । एयरलाइन्सले यात्रुको चापलाई हेरेर भरतपुर, विराटनगरलगायत ठाउँमा अक्तिरिक्त उडान गर्ने योजना बनाएको छ ।

नेपालीको महान् चाड र पर्यटक सिजन एकैपटक पर्ने भएकाले पनि टिकट बुकिङ ह्वात्तै बढेको हो ।

 

जेट विमानबाट आन्तरिक उडानमा होमिएको निजी हवाई कम्पनी सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले ३० प्रतिशत मात्र टिकट बुकिङ भएको बताए । विराटनगर र भद्रपुर गन्तव्यको उडानमा ३० प्रतिशत टिकट बुकिङ भएको खनालले जानकारी दिए । त्यसबाहेक कम्पनीले उडान गर्दै आएको भैरहवा र नेपालगन्ज गन्तव्यमा भने चाप नरहेको उनको भनाइ छ ।

 

‘टिकट बुकिङ दर दिनदिनै बढ्दो छ’, खनालले भने, ‘१० दिनपछि पहाडी क्षेत्रसँग जोडिएका गन्तव्यमा टिकट पाउन कठिन हुनेछ ।’ हवाई यात्रुको चाप बढ्दो छ । जहाज थपिने क्रम बढे पनि सडक सञ्जालमा देखिएको समस्याकै कारण जहाजको टिकटमा चाप देखिएको उनको भनाइ छ । कतिपय यात्रुले पहिले नै टिकट बुकिङमा सस्तो फेयर आउने भएका कारण जहाजकै टिकट बुकिङ गरेको हुन सक्ने उनको भनाइ छ ।

 

सिम्रिक एयरलाइन्सले पनि दसैंलाई लक्ष्य गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । टिकट खुला गरेको एक सातामै पोखरा, भैरहवा र भरतपुर उडानमा ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले बताए । एयरलाइन्सले दुईवटा जहाजमार्फत यात्रुलाई सेवा दिइरहेको छ । एयरलाइन्सले दसैंलाई लक्ष्य गरेर तुम्लिङटार उडान गर्ने योजना तय गरेको थापाले बताए ।

 

दुई साताअघि मात्रै आन्तरिक उडान सुरु गरेको श्री एयरलाइन्सले पनि टिकटमा विस्तारै चाप बढेको बताएको छ । एयरलाइन्सले तीनवटा जहाजमार्फत उडान गर्दै आएको छ ।

 

टिकटमा चाप किन ?

 

आन्तरिक उडानतर्फ झन्डै एक दर्जन एयर कम्पनीले सेवा दिइरहेका छन् । कतिपय एयर कम्पनीले हेलिकोप्टरबाट सेवा दिइरहेका छन् भने कतिपय एयरलाइन्सले सुगम र दुर्गम क्षेत्रमा सेवा दिइरहेका छन् । दुर्गम क्षेत्रमा खासै प्रतिस्पर्धा नभए पनि सुगम क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ । दुर्गम क्षेत्रमा गोमा, सीता, तारा र नेपाल एयरलाइन्सले बढी सेवा दिइरहेका छन् । पहाडी क्षेत्रको उडानमा यात्रुको चाप सधैं हुने गरेको छ ।

 

सुगम क्षेत्रमा बुद्ध, यती, सौर्य, सिम्रिक, श्री र निगमले उडान गर्दै आएका छन् । पछिल्लो समय हवाई कम्पनीमा जहाज थप्ने प्रतिस्पर्धा छ । जहाज थपिएसँगै यात्रामा केही सहज भए पनि पर्यटकीय सिजन र चाडपर्व पनि सहजै टिकट पाउने अवस्था छैन । एयरलाइन्स कम्पनीले हवाई यात्रुको चाप बढेसँगै राम्रै व्यापार गरिरहेको छन् । देशकै लाइफलाइन मानिने नारायणगढ-मुग्लिन सडकखण्डमा देखिएको समस्याले यी जिल्ला जाने विमानस्थलमा यात्रुको चाप बढ्दो छ ।

 

सडक मार्ग हुँदै घर जाँदा घन्टौ जाममा बस्नुपर्ने बाध्यता बढेसँगै हवाई यात्रामा चाप बढेको एयरलाइन्स कम्पनी बताउँछन् । सडक सञ्जालमा सुधार भएपछि हवाई चाप विस्तार घट्दै जाने उनीहरूको भनाइ छ । यात्रुले सस्तो र सहज हवाई यात्राका लागि सडक सञ्जालमा सुधार आउनुपर्ने एयर कम्पनीहरूको भनाइ छ ।

अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);