खाली खुट्टा विद्यालय जान्छन् चेपाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खाली खुट्टा विद्यालय जान्छन् चेपाङ

khali_khutta chepang

चितवन, २२ मंसिर । यसै महिनाको गत १० गते सोमबार जिल्लाको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा सोही विद्यालय र आसपासका पाँचवटा विद्यालयका विद्यार्थी भेला भएका थिए।

भोटेगाउँ, भुलभुले, सरस्वती, वरल्याङ र सिद्धकाली गरी पाँचवटा आधारभूत विद्यालयका विद्यार्थी आएका थिए त्यहाँ। नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्थाको महिला उपसमितिले स्विटर र स्टेसनरी सामग्री वितरण गर्ने भनेकाले ती विद्यार्थी भेला भएका थिए। सहयोगदाता मध्याह्नतिर विद्यालयको प्रवेश गर्दा स्कुलका विद्यार्थी आइसकेका थिए। प्रधानाध्यापक तथा शिक्षकको पनि उपस्थिति भइसकेको थियो।

जाडोयाम सुरु भइसकेपछि चिसो छल्न भनेर पन्जा, टोपी, जुत्ता, मोजालगायत अन्य न्याना र बाक्ला कपडा लगाउने गरिन्छ। तर जाडो बढिसकेको भए पनि त्यहाँ भेला भएका सबैजसो विद्यार्थीका न हातमा पन्जा थिए न टाउकोमा टोपी। उनीहरूका खुट्टामा जुत्ता र मोजा पनि थिएनन्। उपस्थित छात्रहरूले अनिवार्य स्कुले पोसाक सर्ट र पाइन्ट तथा छात्रारूले सर्ट र स्कर्ट मात्र लगाएका थिए। केही छात्राले सुरुवाल पनि लगाएका थिए। चौरमा लामबद्ध भएर उभिएका केही विद्यार्थीका खुट्टा खाली थिए। केही विद्यार्थी चप्पलमा आएका थिए। तीमध्ये केही छात्रछात्राका चप्पलका तुना डोरीले जोडिएका थिए।

खाली खुट्टा विद्यालय आइपुगेका सबैजसो विद्यार्थी चेपाङ समुदायका थिए। इच्छाकामना–२ को भोटेगाउँमा चेपाङ समुदायको मात्र बसोबास छ। गाउँका चेपाङ बालबालिकाका लागि शिशुदेखि कक्षा ३ सम्म पढाइ हुने भोटेगाउँ आधारभूत विद्यालय स्थापना गरिएको छ। गाउँमा त्यो विद्यालय खोलिएको ३० वर्ष पुगिसक्यो।

सोही विद्यालयमा पढ्ने कक्षा १ की विद्यार्थी सञ्जु चेपाङ खाली खुट्टामा थिइन्। उनी घरदेखि दुई घन्टा पैदल दूरीको स्कुलमा खाली खुट्टा आइपुगेकी थिइन्। चप्पलबारे सोध्दा उनले लजाउँदै सानो स्वरमा आफूसँग चप्पल नभएको जानकारी दिइन्। सञ्जुसँगै आएका र उनीभन्दा साना तथा ठूला कक्षामा पढ्ने अरू केही विद्यार्थीका खुट्टा पनि खाली नै थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);