काठमाडौं, १६ मंसिर । अहिले काठमाडौंमा एसिया प्यासिफिक शिखर सम्मेलन चलिरहेको अवस्थामा प्रधानमन्त्री कार्यालयमै रहेको हेलो सरकार युनिटमा गाउँगाउँमा धर्म प्रचार गर्दै धर्म परिवर्तन गर्ने काम भइरहेको भन्दै रोक्न मागसहितको दर्जनौं उजुरी आइरहेका छन् । यो सम्मेलन पनि धर्म प्रचारका लागि गरिएको आरोप लाग्दै आइरहेको छ ।
प्रधानमन्त्री कार्यालयको हेलो युनिट कक्षमा पछिल्लो एक महिना यता आएका गुनासाका चाङमध्ये धर्म प्रचार रोक्नुपर्ने, जंगे पिलर खोज्नुपर्नेसहितका गुनासाहरू निकै संवेदनशील र महत्वपूर्ण भए पनि ती गुनासाको उचित सम्बोधन भने हुन सकेको छैन ।
हेलो सरकार युनिट शाखाका अनुसार कार्यालयमा एक महिनाको अवधिमा यस्तै प्रकृतिका झन्डै १ हजार गुनासा दर्ता भएका छन् । तर, दर्ता भएका मध्ये अधिकांश गुनासाको सम्बोधन हुन सकेको छैन ।
हेलो सरकार युनिटका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले प्रधानमन्त्री कार्यालयमा प्राप्त भएका गुनासा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा पठाइए पनि मन्त्रालयहरुले गम्भीरतापूर्वक नलिँदा जनताका उजुरीहरुको उचित सम्बोधन हुन नसकेको बताए ।
हेलो युनिट शाखा प्रमुख उपाध्यायका अनुसार पछिल्ला दिनमा उजुरी र गुनासा आउने क्रम बढेको छ । धर्म प्रचार रोक्न तथा भारतको सीमामा रहेका जंगे पिलरहरुको संरक्षण गर्ने मागसहितका उजुरी आउने क्रम बढेको उपसचिव उपाध्यायले जानकारी दिए ।
हेलो सरकार युनिट शाखामा परेका गुनासामध्ये १२ हजार ३६८ को सम्बोधन हुन नसकेको सो शाखाले जनाएको छ । हालसम्म हेलो सरकार युनिटमा ८० हजार गुनासा आएका छन् । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।