काठमाडौं, ९ मंसिर । कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौ ल्याइदै छ ।
असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर गाडीमार्फत काठमाडौं ल्याइन लागेको हो । यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो ।
विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै विमानबाट काठमाडौं ल्याउन नसकिएपछि जिप भाडामा लिएर ल्याउन लागिएको उहाँका आफन्तहरुले जानकारी दिएका छन । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टका अनुसार यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए । छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।
निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।