एजेन्सी, ८ मंसिर । जलवायु परिवर्तनका असरका कारण अमेरिकाले अर्बौँ डलर बराबरको नोक्सानी तथा जनस्वास्थ्यमा क्षति बेहोर्नु पर्ने एक नयाँ रिपोर्टले चेतावनी दिएको छ । सो रिपोर्टले आज लिइने निर्णयहरूले भविष्यको स्वरूप कोर्ने भन्दै सजग हुन सुझाव दिएको छ ।
वाशिङ्गटनमा यो साता निकै चिसो बढेपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै विश्वव्यापी तापक्रम वृद्धिका चर्चा के भए भनेर व्यङ्ग्य मिश्रित प्रश्न सोधेका थिए । बीबीसीका जेम्स कुक भन्छन् अहिले उनलाई उल्लेख नगरी उनका आफ्नै वैज्ञानिकरूले सो प्रश्नको विस्तृत जवाफ दिएका छन् । तिनले भनेका छन् विश्वव्यापी तापक्रम वृद्धिले अहिले नै अमेरिकालाई पूरै गाँजेको छ ।
यो अवस्था अहिले नै निकै घातक भइसकेको र तत्काल नाटकीय कदमहरू नचालिए त्यसले विनाशमात्रै निम्त्याउनेछ ।
चौथो राष्ट्रिय जलवायु समीक्षा रिपोर्टमा उनीहरूले ठोस उदाहरण पेश गरेका छन् जस्तो कि साउथ क्यारोलाइनाका भरिएका बाँध, ग्रेट प्लेन क्षेत्रमा पानीको संकटका कारण सुक्दै गएका बालीनाली र फ्लोरिडामा बढेको किटाणुले फैलाउने रोगव्यादि । साथै सो रिपोर्टले गम्भीर आर्थिक असरको चर्चा गरेको छ ।
जलवायु परिवर्तनबारे फरक धारणा राख्दै आएको ट्रम्प प्रशासनले वातावरणभन्दा आर्थिक वृद्धिलाई प्राथमिकता दिँदै आएको छ । तर रिपोर्टमा उल्लेख गरिएको गम्भीर आर्थिक असरको चेतावनीले त्यसलाई समर्थन गर्दैन ।
विभिन्न अमेरिकी सरकारी निकायको सहयोगमा बनाइएको सो रिपोर्टलाई ह्वाइट हाउसले गलत भनेको छ ।