नारायणगढ–मुग्लिन सडक : पहिले ४ घण्टा, अहिले ४० मिनेट | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

नारायणगढ–मुग्लिन सडक : पहिले ४ घण्टा, अहिले ४० मिनेट

narayagarh_muglin_road

चितवन, ८ मंसिर ।  काठमाडौंका ५० वर्षीय राजेन्द्र तण्डुकार नारायणगढ–मुग्लिन सडकखण्डसँग अभ्यस्त छन्। सडकखण्डमा उनले धेरै समय पनि बिताएका छन्। २४ वर्षदेखि सवारीसाधन चलाउने काम गर्दै आएका उनी काठमाडौं–नारायणगढ रुटमा माइक्रो बस चलाउँछन्। १२ वर्षअघि राजेन्द्रले किनेको बा.२ ख २५६४ नम्बरको माइक्रो बस यही रुटमा चल्छ। हरेक दिन बिहान काठमाडौंबाट चितवन आउने र बेलुका फर्किने गर्छन् उनी।

उनले सवारीसाधन चलाउन थालेयता अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सबैभन्दा राम्रो बनेको छ। त्यसैले माइक्रो चलाउन उनलाई सजिलो पनि भएको छ। बिहीबार बिहान सबा आठ बजे काठमाडौंबाट हिँडेका उनी साढे १२ बजे नारायणगढ आइपुगेका थिए। ‘काठमाडौं–नारायणगढ चार घण्टाको बाटो हो’, उनी भन्छन्, ‘बाटो बनाउन थाल्नुपहिले पाँच घण्टामा आइपुगिन्थ्यो।’

सडकखण्ड विस्तारको काम हुँदा भने उनको यात्रा पाँच घण्टामा पूरा भएन। दिनमै काठमाडौं–नारायणगढको दुईतर्फी यात्रा गर्ने उनी कहिले एकतर्फी यात्रामा सीमित भए, कहिले त दुई दिन पनि लाग्यो। ‘चार घण्टाको बाटोलाई २४ घण्टाभन्दा बढी पनि लाग्यो। नारायणगढ–मुग्लिनमै दिन पनि बिते’, उनले भने। उनले काठमाडौंबाट नारायणगढ आइपुग्न लाग्ने समय त कतिपटक यही सडकखण्डमा बिताएका थिए। मर्मतका बेला नारायणगढ–मुग्लिन खण्ड पार गर्नमात्रै तीनचार घण्टा लाग्थ्यो। अहिले यो दूरी उनी ४०÷४५ मिनेटमा सजिलै पार गर्छन्।

विगतमा यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले पनि धुलो, खाल्डाखुल्डी, जाम र डरलाग्दा पहिरोको जोखिम खेपे। अहिले सडकको स्वरुप र सरर हुने यात्राका कारण यात्रुले राहत महसुस गरेका छन्। यो खण्ड २०३६ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको हो । नेपालमा एसियाली सडकका दुईवटा नेटवर्क छन्। एएच–०१ मा पूर्व–पश्चिम राजमार्ग पर्छ। एएच–४२ नेटवर्कमा कोदारीबाट काठमाडौं, नारायणगढ हुँदै वीरगन्ज पुग्ने सडक जोडिएको छ। एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाउने काम गरिएको हो।

३५ मिनेटमा पार गर्ने लक्ष्य
दैनिक करिब १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडकखण्ड विस्तार गर्ने काम चुनौतीपूर्ण थियो। त्यसैले आयोजनाले केही महिना दैनिक ६ घण्टा यातायात रोकेर समेत विस्तारको काम गरेको इन्जिनियर खनाल बताउँछन्। नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्वबैंकको लगानीमा सडक विस्तारको काम गरिएको हो। आयोजनाअन्तर्गत नेपालमा सवारीसाधनलाई बाटो पार गर्न लाग्ने समय घटाउन सडक विस्तारको काम गरिएको हो।

‘विस्तार हुनुअघि नारायणगढ–मुग्लिन सडकखण्ड पार गर्न एक घण्टा १० मिनेट लाग्थ्यो’, खनाल भन्छन्, ‘यो समय आधा घटाउने लक्ष्यअनुसार सडक स्तरोन्नति भएको हो। अब यो खण्ड ३५ मिनेटमा पार हुने लक्ष्य राखिएको छ।’ सडक विस्तार काम सकिए पनि यस खण्डका १८ वटा पुलमध्ये १४ वटाको विस्तार काम सुरु नै भएको छैन। यसले गर्दा ३५ मिनेटमा नै सडक पार गर्न सकिने अवस्था अझै बनेको छैन। अहिले सरदरमा ४५ मिनेटमा यो सडकखण्ड पार गर्छन् यात्रु। हाल चारवटा पुल निर्माणको काम भइरहेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);