बुटवल, १ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दसैंको पूर्वसन्ध्यामा दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा प्रदेश ५ को राजधानी दाङ नै हुने दाबी गरे। बर्दियादेखि परासीसम्मको केन्द्र पर्ने भएकाले दाङको विकल्प नभएको उनको भनाइ थियो। महराले तुलसीपुरमा बोलेको केही दिनपछि कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले बुटवलमा एक कार्यक्रममा कुनै पनि शक्तिले प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न नसक्ने ठोकुवा गरे।
प्रदेश सरकार र संसद् स्थापना भएको ९ महिना भयो। यो अवधिमा प्रदेशको स्थायी राजधानीको विषयलाई लिएर मुख्य पार्टीका ठूला नेताबीच यस्तो जुहारी निरन्तर चलिरहेको छ। आठौं प्रदेश बनाएर भए पनि दाङलाई राजधानी बनाउने अभिव्यक्ति दिँदै आएका दाङ क्षेत्र न २ बाट निर्वाचित सभामुख महराले प्रदेशबाट मुख्यमन्त्री शंकर पोखरेलले र केन्द्रबाट आफूले कूटनीतिक पहल गर्ने भनाइ त्यसअघि दाङकै एक कार्यक्रममा राखेका थिए ।
तत्कालीन देउवा सरकारका पालामा बुटवललाई अस्थायी राजधानी तोक्न मुख्य भूमिका खेलेका कांग्रेस नेता बालकृष्ण खाँण र नेकपाका महासचिव विष्णु पौडेलले पनि सुरुदेखि नै बुटवललाई स्थायी राजधानी बन्नाउने दाबी गर्दै आइरहेका छन्। निर्वाचनका बेला बुटवल र दाङलाई प्रदेश राजधानीको मुख्य अजेन्डा बनाएका नेकपा र कांग्रेसका प्रतिनिधि र प्रदेश सांसद तथा प्रभावशाली नेताबीच राजधानीका विषयमा अहिले जुंगाको लडाइँ चलिरहेको छ।
सहमति वा प्रदेशसभाको दुईतिहाइ बहुमतबाट स्थायी राजधानी र नाम टुंग्याउन सक्ने संवैधानिक व्यवस्था छ । यो प्रदेशमा नेकपाको स्पष्ट बहुमत पनि छ । कुल ८७ सांसदमध्ये ६१ जना सत्तारुढ नेकपाका सांसद छन् ।
कांग्रेसका १९, फोरमका ५ राष्ट्रिय जनमोर्चा र राजपाका १÷१ जना छन् । तर सत्तासीन दलभित्रै ठूला नेतादेखि प्रदेश सांसदहरू क्षेत्रगत रूपमा विभाजित छन् । उनीहरू जनतालाई सहमतिमा ल्याउन भूमिका खेल्नुको साटो राजधानीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर लबिङमा लागेकै कारण यो विषय झन् पेचिलो बनेको छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।