काठमाडौं, ३० कात्तिक । नेपालमै पहिलो पटक पर्यटकिय नगरी पोखरामा व्यवसायीक हट एयर बेलुन उडान सुरु गरिने भएको छ । राजधानी काठमाडौँमा पत्रकारसम्मेलन गर्दै नेपाल बेलुन प्रालिले प्राकृतिक साहसिक खेलको रुपमा समेत लिइने हट एयर बेलुन उडान मंसिर १ गतेबाट सुरु गरिने जनाएको छ ।
हट एयर बेलुन धम्पुसबाट उडान गरी मार्दि खोलाको तिरमा अवतरण गराउने बताइएको छ । १ घण्टा सम्म यात्रा गराउदा नेपाली पर्यटकले ११ हजार र विदेशी पर्यटकले १६ हजार रुपैयाँ खर्च गर्नुपर्ने नेपाल बेलुन प्रालिका कार्यक्रम संयोजक प्रविण महर्जनले जानकारी दिए ।
एक पटकमा ८ जना सम्मले यात्रा गर्न सक्ने नेपाल बेलुन प्रालिले जनाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न यस्ता साहसिक खेलले सहयोग पुग्ने विश्वास लिइएको छ ।