नागार्जुनमा आधुनिक शैलीकाे ऐतिहासिक 'राधाकृष्ण' मन्दिर निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

नागार्जुनमा आधुनिक शैलीकाे ऐतिहासिक ‘राधाकृष्ण’ मन्दिर निर्माण हुने

काठमाडौं, २९ कात्तिक । नेपालमा आधुनिक शैलीमा ऐतिहासिक ‘राधा कृष्ण’ मन्दिरको निर्माण हुने भएको छ । काठमाडौंको नागार्जुन नगरपालिकामा निर्माण हुन लागेको उक्त मन्दिरमा इटालियन मार्वलको प्रयोग गरिनेछ ।

मन्दिर निर्माणका लागि सम्पूर्ण तयारी पुरा भैसकेको छ । आगामी मंसिर १७ गते भूमि पूजन र १८ गते मन्दिरको शिलान्यास हुने कार्यक्रम रहेको जगतगुरु कृपालु प्रतिष्ठान नेपालले जनाएको छ ।

जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले काठमाडाैंको नागार्जुन नगरपालिका वडा नं. ७ मा मन्दिर निर्माण गर्न लागेको हो । २०७५ मंसिर १७ गते भूमि पूजन गरिने तथा १८ गते मन्दिरको शिलान्यास हुने कार्यक्रम रहेको जगद्गुरु कृपालु प्रतिष्ठानका अध्यक्ष राजु प्रसाद कडेलले जानकारी दिए ।

उनका अनुसार १ सय २५ रोपनी क्षेत्रफलमा सो मन्दिर निर्माण हुनेछ । त्यसका लागि आवश्यक कानूनी र नीतिगत प्रक्रिया पुरा भइसकेको जनाइएको छ । मन्दिर शिलान्यासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

कार्यक्रममा सहभागी हुन जगद्गुरु कृपालु परिषद भारतका अध्यक्ष डाक्टर सुश्री विषाखा त्रिपाठी, डाक्टर सुश्री श्यामा त्रिपाठी र डाक्टर सुश्री कृष्णा त्रिपाठी समेत नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रतिष्ठानका अनुसार मन्दिर पुरै इटालियन मार्वलबाट बन्नेछ । मन्दिरमा कंक्रीटको प्रयोग हुने छैन । सम्पूर्ण कलाकारिताले ओतप्रोत मन्दिर सुन्दर कलात्मक हुनेछ । अनुभवी कालीगढको हातबाट निर्माण हुने कलात्मक मन्दिर राष्ट्रिय स्तरमा नेपालकै पहिलो हुनेछ । यसले सम्पूर्ण आध्यात्मिक जगत्लाई नै नयाँ ऊर्जा दिने विश्वास लिएको प्रतिष्ठानका अध्यक्ष कडेलले जानकारी दिए ।

मन्दिर परिसरमै सवारी साधनको पर्याप्त पार्किङ्ग, तीन वटा ठूला सभा हल, विभिन्न फाउण्टेन सहितको आकर्षक बगैंचाको निर्माण हुनेछ । मन्दिरको निर्माण कार्य ३ वर्ष भित्र सम्पन्न हुने लक्ष्य लिइएको छ ।

‘राधा कृष्ण’ मन्दिरले विश्वकै ध्यानाकर्षण गर्नुका साथै धार्मिक पर्यटनको उपयुक्त गन्तव्य समेत बन्ने विश्वास प्रतिष्ठानले लिएको छ । मन्दिरको निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई नेपालले आर्थिक रुपमा समेत लाभ लिन सक्नेछ ।

प्रतिष्ठानका अध्यक्ष कडेलले ऐतिहासिक मन्दिर निर्माणका लागि आवश्यक सहयोग र प्रक्रियामा महत्वपूर्ण भूमिका खलेकोमा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, उपप्रमुख सुशिला अधिकारी, कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष तथा सदस्यहरु सहित नगरपालिकाका पदाधिकारीप्रति हार्दिक आभार प्रकट गरेका छन् ।