भक्तपुर, २२ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।
तिहार तथा नेपाल संवतको अवसर पारेर बिहिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताए । सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिए ।
सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिवी निवारणमा पु-याएको योगदानको पनि चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य सुरेन्द्र केसीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।