काठमाडौँ, १० भदौ । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी नारीहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन्।महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए आज ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास रहँदै आएको छ। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो।
स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ। ऋषिपञ्चमीका अवसरमा आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको बिनैदेखि भीड लागेको छ।




