काठमाडौं, १५ कात्तिक । स्याङ्जामा आजबाट प्याराग्लाइडिङ वल्र्डकप खेल सुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्डकप–२०१८ हुन लागेको हो ।
प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितात्मक प्रतिष्पर्धा भने शुक्रबारदेखि मात्र हुनेछ । प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाइलटहरुले सहभागिताको लागि नाम दर्ता गराइसकेका छन् ।
प्रतियोगितामा एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिनुभएको छ ।प्रतियोगितामा हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।




