काठमाडौं, ११ कात्तिक । प्रदेश २ को राजधानी र नामांकनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ । प्रदेशको राजधानी र नामांकनका लागि ढिलाइ भइरहेका बेला प्रदेश सरकारले संवाद तथा सुझाव आयोग गठन गरेको हो ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरिएको हो । आयोगको टोलीमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् ।
आयोगले प्रदेशको राजधानी र नामाङ्कनको बिषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गर्ने र आयोगले प्रदेशको स्थायी राजधानी तथा नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने छ । हाल २ नम्बर प्रदेशको अस्थायी मुकाम धनुषाको जिल्लाको जनकपुरधाममा रहेको छ ।