नक्कली नोट छाप्ने मेसिनसहित ५ जनाको गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नक्कली नोट छाप्ने मेसिनसहित ५ जनाको गिरोह पक्राउ

nakkali notesahit pakrau

काठमाडौं, ४ कात्तिक । दशैँ लगायत चाडपर्वलाई लक्षित गरी नयाँ नोटको माग भइरहेका बेला नक्कली नोट छाप्दै बजारमा पुर्याउने गिरोहलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । ३ लाख ७० हजार रुपैयाँका नयाँ नोट सहित ती गिरोह नक्कली नोट छापीरहेका बेला पक्राउ परेका हुन् ।

दशैँका बेलामा नयाँ नोटको माग अत्याधिक हुन्छ । त्यही मौका छोपी एक गिरोहले नक्कली नोट छपाई नै सुरु गरेको अपराध सार्वजनिक भएको छ । ५ सय थान हजारका नोट छापिसकेको यो गिरोह प्रहरीको पञ्जामा परेपछि घटना बाहिर आएको हो । काठमाडौँको गौशालामा नोट कारोवार गरिरहेको समयमा सुराकीका आधारमा एक व्यक्ति पक्राउ परेपछि उनै व्यक्तिमार्फत प्रहरी नक्कली नोट छपाई हुने स्थल सम्म पुगेको थियो ।

काठमाडौँको किर्तिपुरस्थीत मच्छेगाउँको एक घरमा छपाई भईरहेको समयमा प्रहरीले पैसा फोटोकपी गर्ने अत्याधुनिक मेसिन सहित ३ लाख ७० हजार नक्कली नोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ लाख मध्य अब १ लाख ३० हजार रुपैयाँ बजारमा पुर्याईसकेको भन्दै त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पैसा छाप्न प्रयो गर्ने २ बण्डल पेपर, मोबाइल ४ थान, कैची ३ थान, लालीगुराँस अंकित रवर छाप एक थान, नक्कली पैसा फोटोकपी गर्न प्रयोग गर्न सक्कली हजारका नोट ३ थान, सयको सक्कली नोट ३ थान पनि बरामद गरिएको छ । पैसाको बण्डल बनाएर बजार पठाउन गोर्खा फाइनान्सको ट्याग र एनआइसी बैँकको खाली चेक पनि उनीहरुको साथबाट बरामद भएको छ ।

प्रहरीका अनुसार नक्कली नोट बनाउने गिरोहको नाइके इन्द्रबहादुर श्रेष्ठ हुन् । पर्सा घर भएका २७ बर्षे इन्द्रबहादुर यस अघि हातहतियार तथा खरखजना मुद्यामा ११ महिना जेल सजाय भोगेर केही समय पहिले मात्रै सार्वजनिक जीवनमा आएका थिए । त्यस लगत्तै उनी नक्कली नोट बनाउने अपराधमा संलग्न भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

इन्द्रबहादुरसंगै गोर्खा लखनगाउँका नारायण श्रेष्ठ, मकावनपुर हर्नामाडीका साहिल थापामगर, पर्सा विरुवा गुठीका राज श्रेष्ठ, काठमाडौँ कागेश्वरी मनहराका विकास दोचेलाई प्रहरीले हिरासतमा लिई थप अनुसन्धान र कार्बाही प्रक्रिया अघि बढाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५६को खोटा मुद्रा बनाउन नहुने संवन्धी कानुनी कार्बाहीको तयारी भइरहेको छ । कानुन अनुसार यस्तो अपराधमा संलग्न ब्यक्तिलाई ५ बर्ष देखि १० बर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

होटल तथा रेष्टुरेन्टमा पैसा तिर्ने, किराना पसलमा कारोवार गर्ने र सक्कली पैसामा मिसाएर नक्कली पैसाल बजारसम्म पुर्याउन यो गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);