कैलाली, ४ कात्तिक । धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भम्रणका लागि आइतबार भारतको मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एकदिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ ।
टोलीलाई आइतबार धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर वडले एक कार्यक्रमकाबीच विदाई गरेका छन् । विदाई कार्यक्रममा शुभकामना दिदैँ मेयर वडले खेलले कुनैपनि क्षेत्रलाई चिनाउन तथा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।
यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्सोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
टोलीमा सुबोध ऐर, सिजन कुँवर, संदिप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन् । यस्तै प्रशिक्षकमा दिपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन् ।




