झापा, २९ असोज । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रादेशिक संरचनाले स्थानीय तहको अधिकारलाई कमजोर पार्ने काम गरिरहेको बताएका छन् ।
आज झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले भारतको ग्राण्ड डिजाइनमा आएको संघीयताले जनतालाई प्रत्यक्ष फाइदा नपुगेकाले संघीयता खारेज गर्नुपर्ने बताए ।
उनले संसदमा आफूहरुको प्रतिनिधित्व न्यून भएपनि राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव लैजाने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न आफूहरुको भूमिका अहम रहने उनको धारणा थियो ।
त्यसैगरी, आइतवार सम्पन्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अखिल (छैठौंं)को केन्द्रीय अध्यक्षमा प्यूठानका विमलप्रसाद पोखरेल चयन भएका छन् । झापाको बिर्तामोडमा भएको २१ औं राष्ट्रिय सम्मेलनले पोखरेलको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको हो ।




