एजेन्सी, २७ असोज । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ । बुधबार अमेरिकाले चौथो वर्गीकरणमा राखेको विशाल आँधी आएको थियो । उद्धार टोलीहरुले हिजोदेखी मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुरसमेत साथै लिएर खोजी गरिरहेका छन् ।
संघीय आपत्कालीन व्यवस्थापन निकायका प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्नसक्ने बताएका छन् । स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्यरुपमा घर छाड्न आदेश दिइएको थियो ।
तर, केही मानिसले अटेर गरेर घरमै बसेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएका छन् ।