अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन

काठमाडौं, १५ असोज । सार्वजनिक लेखा समितिले चिनीलगायत दसैंका लागि अति आवश्यक बस्तुहरुमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनी, चामल, तेल लगायतका अति आवश्यकीय बस्तुमा अस्वभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

दसैंको मुखैमा अति आवश्यकीय बस्तुहरुको अस्वभाविक मूल्य वृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । समितिले दसैंको बस टिकटमा कृतिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कार्वाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ ।

यात्रुहरुलाई सहज ढंगले यात्रा गर्न पाउने गरी दसैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको सभापति शाहले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले व्यवसायीहरुले सरकारलाई समेत झुक्याएर चिनीको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले उखु किसानहरुको बक्यौता रकम तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य हृदयश त्रिपाठीले चिनीको मूल्य वृद्धि गरेर सरकारले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाए । समितिका सदस्यहरुले मूल्य वृद्धि गर्ने तर त्यसको चित्तबुझ्दो जवाफ नदिने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);