काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिगका लागि खेलाडीको अक्सन सम्पन्न भएको छ । कुल १७८ खेलाडी अक्सनमा सहभागी भएकोमा सहभागी ६ टोलीले ६९ खेलाडी खरिद गरेका छन् ।
आइतबार काठमाडौंमा सम्पन्न अक्सनमार्फत काठमाडौं रोयल्सले १०, चितवन राहिनोजले १०, विराटनगर टाइटन्स १२, बुटवल ब्लास्टर्स १३, पोखरा पल्टन ११ र धनगढी ब्लुजले १३ खेलाडी अनुबन्ध गरेका छन् ।
अक्सनमा राष्ट्रिय टोलीबाट खेलेका, उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका र नखेलेका गरी खेलाडीहरुलाई तीन समूहमा बर्गीकरण गरिएको थियो । सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका २९, उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका ५७ र नखेलेका ९२ खेलाडीलाई अक्सनमा समावेश गरिएको थियो । खेलाडीहरुको वर्गीकरण अनुसार मूल्य पनि फरक फरक तोकिएको थियो ।
राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीका लागि न्यूनतम ५० देखि अधिकतम २ लाख ५० हजार, उमेर समूहमा राष्ट्रिय टोलीबाट खेलेका खेलाडीका लागि न्यूनतम ५० हजारदेखि अधिकतम १ लाख ५० हजार र नखेलेका खेलाडीहरुका लागि न्यूनतम ३० देखि अधिकतम १ लाखसम्मको बोली लगाउन पाइने ब्यबस्था थियो ।
अहिलेसम्म कुनै पनि राष्ट्रिय टोलीबाट नखेलेका ९२ खेलाडीमध्ये अभिनाश बोहोरा र हरि चौहान अधिकतम मूल्य १ लाखमा बिके । उनीहरुलाई एकभन्दा बढी टिमहरुले अधिकतम बोली लगाएपछि गोलाप्रथाबाट टिमको छिनोफानो गरिएको थियो ।
पोखरा प्रिमियर लिग आगमी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुँदैछ ।