साढे पाँच सय कर्मचारी सरूवा | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

साढे पाँच सय कर्मचारी सरूवा

samanne prasasan

काठमाडौं, १३ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँच सय कर्मचारीलाई सरूवा गरेको छ । सरूवा गरिएका कर्मचारीमध्ये केही कर्मचारीसम्बद्ध संस्थाका पदाधिकारीसमेत छन् ।

करिब साढे पाँच सय कर्मचारीलाई बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा सरूवा गरिएको सामान्यले जनाएको छ । जसमध्ये करिब सय कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सय कर्मचारीलाई स्थानीय तहमा सरूवा गरिएको हो।

मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १ सय ५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरूवा गरेको छ । यसैगरी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १ सय ६ प्राविधिक कर्मचारीलाई पनि स्थानीय तहमा सरूवा गरिएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख तथा उपसचिव प्रेम लुइँटेलले बिहीबारको कर्मचारी सरुवाबाट प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव धेरैहदसम्म कम हुने बताए । उनले भने, ‘अब स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगिसकेको छ ।’ ओएनएम सर्भे रिपोर्टअनुसार ७ सय ५३ स्थानीय तहमा तत्कालका लागि करिब ५७ हजार कर्मचारी आवश्यक छ ।

उपसचिव लुइँटेलले ७ सय ५३ वटै स्थानीय तहमा एक स्थानीय तहबराबर कम्तीमा एक प्राविधिक कर्मचारी पठाउने सरकारको नीतिअन्तर्गत यसपटक ठूलो संख्यामा प्राविधिक कर्मचारी पठाइएको जनाए।

मन्त्रालयले बिहीबार नै प्रशासन सेवाका करिब १ सय ५० कर्मचारीलाई विभिन्न स्थानीय तहमा खटाएको छ । ती कर्मचारी श्रम, भूमि व्यवस्था, हुलाक, गृहअन्तर्गतका कार्यालयबाट खटाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा खटाइएका केही कर्मचारी फाजिलमा परेका र ओएनएम सर्भेपछि विभाग कटौती हुँदा पदस्थापन हुन नसकेका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);