काठमाडौं, ९ असोज । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको समितिले मंगलवार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । मन्त्रालयले मैनालीको संयोजकत्वमा भदौ ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।
प्रतिवेदनमा घटना पछिको परिस्थितिबारे खुलाए पनि घटना कसरी भयो भन्नेबारे नखुलाइएको जनाइएको छ । समितिलाई तोकिएको १५ दिनको म्यादसम्म जाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरेको थियो ।