बाग्लुङको भकुण्डे पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

बाग्लुङको भकुण्डे पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

baglung bhakunde

सुवास आचार्य
बाग्लुङ, ७ असोज
। बागलुङ नगरपालिका १० मा पर्ने भकुण्डे अहिले पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ । पर्यटकको आगमन हुन थालेपछि भकुण्डेबासी पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेका छन् ।

मगर समुदायको बाहूल्यता रहेको बागलुङको भकुण्डेमा पर्यटन विकासका लागि होमस्टे सञ्चालन, भ्यु टावर निर्माण, संग्रहालय स्थापना, लगाएत बराह तालको संरक्षण गरिएको छ । ९ वटा घरमा २०७३ सालदेखि दर्ता गरेर बैधानीक हिसाबले सञ्चालन गरिएको अतिथी सत्कार होमस्टेमा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायत छिमेकी जिल्लाका स्वदेशी र बिदेशी पर्यटकको आगम बढ्न थालेको छ ।

समुन्द्रि सतहदेखि दुई हजार मिटर भन्दा बढी उचाईमा अवस्थित ५० जना क्षमत्ताको होमस्टेमा स्थानीय खानाका परिकार, मगर संस्कृती, न्यानो आतीत्थता, एकान्त वातावरण र हिमशृङखला र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिने होमस्टे सञ्चालकहरुले बताएका छन ।

होमस्टेमा आउने पर्यटकहरुलाई भ्यु टावर, विभिन्न समुदायको सांस्कृतिक, ऐतिहाँसीक र ग्रामिण जिवन शैली झल्कने सामाग्री राखिएको संग्रहालय र बराह तालको अवलोकन गराईन्छ । गुरासे जंगलको बिच र पहाडको टाकुरामा अवस्थित मुलाबारीमा करिब ८० लाख रुपैयाको लागतमा निर्माण भएको ३२ फिट अग्लो भ्यु टावरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी लगायत २२ वटा हिमालका मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

पर्यटन विकासका लागि स्थानीयबासीले प्राङगारीक तरकारी, आलु खेती र सरसफाईमा ध्यान दिएका छन् । पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, सामाजिक परिचालन र प्रर्वद्धनात्मक काममा समुदायलाई सघाउदै आएको बागलुङ नगरपालिकाले मालढुङ्गा र तित्याङबाट भकुण्डे जोड्ने दुई वटा सडकको स्तरोन्नतीको तयारी समेत गरेको छ ।

बागलुङ बजारदेखि १४ किलोमिटर सडकमा यात्रा गरेपछि पुगीने भकुण्डेको जैविक बिबिधता, गुराँसे जंगल र शान्त वातावरण पनी पर्यटकीय आकर्षण हो । पूर्वाधार निर्माणलाई व्यवस्थित, प्रचारप्रसारमा जोड र होमस्टेलाई अझै ब्यवस्थित तथा ब्यवसायीक बनाउन सकेमा बागलुङको भकुण्डे स्वदेशी तथा बिदेशी पर्यटकको आगमन बढ्न सक्ने प्रशस्त सम्भावना छ ।