उपचार गर्न हेलिकप्टरकै भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपचार गर्न हेलिकप्टरकै भर

helicopter

धादिङ, ७ असोज । बिरामी हुन साथ हेलिकप्टर मगाएर उपचार गर्न काठमाडौं पुर्‍याउने रकम नभए अकाल मृत्युवरण गर्न पुग्छन् धादिङ उत्तरी भेकका बासिन्दा हालसम्म सडक सञ्जालले नछोएको उत्तरी भेकका रुबी भ्यालीका ७ हजार घरधुरीको भइपरी आउँदा यातायातको एउटै साधन हेलिकप्टर मात्रै हो ।

अधिकांश परिवारले वर्षौंदेखि कमाएको रकम हेलिकप्टरको एउटै चार्टरमा सकिन्छ । विगत ८ महिनाको अवधिमा हेलिकप्टर मगाउन नसक्दा तिप्लिङ लवदुङ र ठूलो गाउँँमा दुई सुत्केरीको रक्तश्रावले अकालमा ज्यान गयो । २३ वर्षीया डिलीमाया तामाङ र २० वर्षीया फुलमाया तामाङको सुत्केरीपछिको आपत्कालीन उपचार नै नपाएर मृत्यु भयो ।

‘काठमाडौंबाट सानो हेलिकप्टर मगाएको भाडा मात्रै एकै खेपमा १ लाख २० हजार सम्म लिने गरेको छ, त्यो पनि भनेको समयमा पाइँदैन, आपत्विपत्मा रकम र हेलिकप्टर खोज्दैमा महत्त्वपूर्ण समय खेर जाने गरेको छ । काठमाडौंका आफन्तले कम्पनीमै गएर नगद बुझाएपछि मात्रै रेस्क्यु गर्छ,’ स्थानीय युवा जस थापाले भने ।

काठमाडौंमा मजदुरी गरी कमाएको अढाइ लाख रकम तिप्लिङका आइते तामाङले आमाबाबुलाई हेलिकप्टरमा काठमाडौं ओसार्नमै खर्च गरे । स्थानीय येन्चाराज घले, टाँसी घले, गर्चेन घलेलगायतलाई उपचार गर्न काठमाडौं लैजान आफन्तजनले हेलिकप्टर चार्टरमै लाखौं खर्च गरे । गत साउनदेखि मात्रै तिप्लिङमा ७ पटकमा १६ जना अशक्त बिरामी हेलिकप्टरबाट चार्टर गरिएको छ ।

हेलिकप्टर चार्टर गर्नेहरू अशक्त बिरामी, गर्भवती, सुत्केरी, दमका रोगी, आपराधिक घटनामा घाइते भएका र भीरबाट लडेका, पहिरोमा घाइते भएका हुन्छन् । स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरूमा प्राथमिक उपचार गर्ने पनि औषधि नभएपछि सामान्य रोग लाग्दा पनि स्थानीयवासीलाई जिल्ला सदरमुकाम वा काठमाडौं जानुपर्ने बाध्यता छ ।

सदरमुकामदेखि तिप्लिङसम्मको १ सय ७ किमि सडक निर्माण आरम्भ गरिएको ३० वर्ष नाघिसकेको छ । विभिन्न विवाद र आपराधिक घटनाका कारण निर्माणाधीन सडक पनि ढिलाइ भरहेको छ । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);