काठमाडौं, ४ असोज । सभामुख कृष्णबहादुर महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल पत्रका महासंघले गरेको ‘संविधान र पूर्णप्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै सभामुख महराले पत्रकारहरुको माग सम्बोधन गर्न सरकारले नयाँ मुलुकी ऐन संशोधन गर्ने बचन आफूलाई दिएको जानकारी दिए ।
सभामुख महराले देश र जनताको पक्षमा समर्पित भएर समाचार सम्प्रेषण गर्न भन्दै पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन पनि आग्रह गरे । उनले नयाँ मुलुकी ऐन संशोधनका लागि सरकारसँग पर्याप्त छलफल गर्न पनि पत्रकार महासंघलाई सुझाव दिए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी एकपछि अर्को कानुन ल्याएको भन्दै आपत्ति जनाए । उनले प्रेस स्वतन्त्रता विरोधि कानुन संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्षहरुले सरकारले ल्याएको मुलुकी अपराध संहिताले प्रेस स्वतन्त्रतामा अंकुश लगाएको भन्दै सरकारले त्यसलाई सच्याउने भन्दा प्रयोग गर्न खोजेको अरोप लगाए । उनीहरुले सार्वमौम सार्वभौम संसदले समेत ध्यान नदिदा पत्रकारहरु समाचार लेखेकै कारण वारेन्टमा पर्ने तथा थुनिने समस्यामा परिरहेको बताएका थिए ।
कार्यक्रममा नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको छ । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कारको राशी दुई लाख २२ हजार दुइ सय २२ रुपैयाँ रहेको छ ।