काठमाडौं, ३० भदौ । बंगबन्धु गोल्डकप आउन २ साता मात्रै बाँकी रहँदा नेपालले सहभागिता जनाउने वा नजनाउने भन्नेबारे अझैसम्म टुङ्गो लागेको छैन ।
यसअघि च्याम्पियन बन्दाको पुरस्कार राशी पुरा नपाउनुले खेल्ने नखेल्ने टुंगो नलागेको हो । साविक विजेता समेत रहेको नेपाल समूह ‘ए’मा प्यालेस्टाइन र ताजकिस्तानसँग रहेको छ ।
अर्को समूहमा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । बंगबन्धु गोल्ड कप असोज १४ गतेदेखि सुरु हुँदैछ । २०७२ को माघमा च्याम्पियन बनेको नेपालले ५० हजार अमेरिकी डलर पाउने बताइएको थियो ।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले २५ हजार डलर मात्र प्राप्त गरेको बताएको छ । एन्फाका उपाध्यक्ष कृष्ण थापाले पुरस्कारको आधा रकम पाउन बाँकी रहेको र त्यो नपाउँदासम्म बंगबन्धुको सहभागिता भने ग्यारेन्टी गर्न नसकिने बताए ।