छानविन समितिबाट राजीनामा दिएका उपसचिव केसी पुनः काममा फर्किए | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

छानविन समितिबाट राजीनामा दिएका उपसचिव केसी पुनः काममा फर्किए

काठमाडौं, २७ भदौ । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना जाँच बुझका लागि गठित उच्चस्तरीय छानवीन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी पुनः समितिको काममा फर्किएका छन् ।

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपसचिव केसीले निर्मला पन्तको घटना जाँचबुझका लागि गठित उच्चस्तरीय छानबिन समितिमा फर्किएको जानकारी दिएका हुन् । गृह मन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आवश्यक सहयोग र सुरक्षा दिने प्रतिवद्धता जनाएपछि आफू पुनः छानवीन समितिको काममा फर्किएको उनले जानकारी दिए ।

त्यसक्रममा उपसचिव केसीले राज्यले घटनाको सत्यतथ्य पत्ता लगाउन दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

निर्मला पन्तको हत्याको घटनाका सम्बन्धमा छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उपसचिव केसीलाई प्रदेश ७ को सरकारको तर्फबाट प्रतिनिधित्व गराइएको थियो ।

केसीले छानवीनको क्रममा आफूलाई लागेका कुरा राख्ने अवस्था नभएपछि समितिबाट राजीनामा दिने अवस्था आएको र पछि गृहमन्त्रीसँग भेट गर्ने अवसर पाएपछि पुनः सो जिम्मेवारीमा फर्किएको बताए ।

केसीलाई गृहमन्त्री थापाले समितिमा आफूलाई लागेका कुरा स्वतन्त्रतापूर्वक राख्न पनि निर्देश दिएका छन् । स्वतन्त्रतापूर्वक घटनाको सत्य बाहिर ल्याउने गरी समितिमा कुरा राख्ने वातावरण आफूले बनाउने गृहमन्त्री थापाले आश्वासन दिएको उपसचिव केसीले बताए ।

उपसचिव केसीले गत सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको हत्यारालाई कार्वाही गर्ने आफ्नो इमान्दार प्रयास भईरहेपनि अपराधिहरुले आफैंलाई हत्या गर्ने प्रवल सम्भावना देखेको’ भन्दै समितिबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);