गौरा पर्वमा खेलिने खेल लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

गौरा पर्वमा खेलिने खेल लोप हुने अवस्थामा

बिमल जैरु

डडेल्धुरा, २३ भदौ । सुदुर पश्चिम क्षेत्रमा लोकप्रिय मानिएको गौरा पर्वमा खेलीने ठाडो खेल, चैत, धुमारी र हुडकेली खेल लोप हुने अवस्थामा पुगेको छ । गौरा पर्वको अवसरमा मात्रै खेलीने यो खेल पछिल्ला गौरा पर्वहरुमा देखिन छाडेको छ ।

गौरा पर्वको ठाडो खेलमा लय मिलाएर बिभिन्न देवी देवताका गाथा गाईन्छ । वुढापाकाहरुले ठाडो खेल निहुरीएर खेल्ने खेलमा लय हालेर विभिन्न देवी देवताको गाथा गाउदँथे । तर अहिलेका पुस्तामा यस्तो खेलको कुनै आकर्षण छैन जसका कारण गौरा पर्वको ठाडो खेल लोप हुने अवस्थामा पुगेको हो ।

देवी देवताका गाथा गाउँदा लय मिलाउनुका साथै खेल खेल्दा हिडाईको ताल पनि एक साथ मिलाउनु पर्ने भएकाले ठाडो खेललाई विशिष्ट मानिन्छ । सहजै रुपमा खेल्नका लागि समस्या हुने भएकाले युवापुस्ताले झन्झटीलो मान्ने गरेका छन्।

पहिले जस्तो चैत, धुमारी र ठाडो खेलमा देवीदेवताका गाथा गाउने मानिस अहिले पाउन समेत छाडेपछि यहाँका अगुवाहरु चिन्तीत देखिन थालेका छन् । अप्ठेरो खेल भएकाले मानिसहरुले ठाडो खेल छाडेर डेउडा खेलतर्फ आकर्षित हुन थालेका छन् ।

हराउँदै गएको संस्कृतिलाई युवा पुस्तामा ताजकीकरणका लागि गौरा महोत्सवको हरेक वर्ष आयोजना हुँदै आएको छ । सुदुरपश्चिमका पहाडी जिल्ला लगाएत तराईका जिल्लाबाट पनि गौरा महोत्सव अवलोकन गर्न डडेलधुरा पुग्ने गरेका छन्।

धर्मसंस्कृती र परम्पराको धनी मानिएको नेपालका लागि सुदुर पश्चिमको ठाडो खेललाई जोगाइ राख्न यहाँका युवा पुस्ताहरु सचेत हुन आवश्यक रहेको स्थानीयको भनाई छ ।