सचिवको मौखिक निर्देशनले उडान अनुमतिमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

सचिवको मौखिक निर्देशनले उडान अनुमतिमा रोक

tourism-ministry

काठमाडौं, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन हेलिकप्टर कम्पनीको उडान अनुमति रोकेको छ। मनाङ एअर, हेली एभरेष्ट र एअर डाइनेस्टी कम्पनीका हेलिकप्टरको निषेधित क्षेत्र उडान अनुमति रोकेको हो।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको मौखिक निर्देशनमा निषेधित क्षेत्रको उडान अनुमतिमा रोेक लगाइएको छ। मन्त्रालय स्रोतका अनुसार पर्यटन क्षेत्रमा हुने फेक रेस्क्यू (फर्जी उद्धार कार्य)मा संलग्न रहेको भन्दै सचिव देवकोटाले ती कम्पनीलाई निषेधित क्षेत्र उडान अनुमतिमा रोक लगाएका हुन्।

अध्यागमन विभागका अनुसार नेपालका १३ जिल्लामा ५३ वटा निषेधित क्षेत्र छन् । अधिकांश क्षेत्र उत्तरी हिमाली जिल्लामा पर्छन्। ती क्षेत्रमा पदयात्रामा जाँदा तथा त्यो क्षेत्र भएर आकाशमा उड्दा र हेलिकप्टर राख्दा सरकारको अनुमति अनिवार्य छ। फेक रेस्क्यूले पर्यटन उद्योग बिगारेको भन्दै मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्व छानबिन समिति बनाइएको थियो ।

समितिले भदौ तेस्रो साता तीनवटा हेलिकप्टर कम्पनी, ६ वटा अस्पताल र ८ वटा ट्रेकिङ तथा उद्धार गरेर १७ कम्पनीलाई थप अध्ययन गरी कमजोरी भेटिएमा कारबाही गर्न सिफारिस गरेर प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनपछि सचिव देवकोटाले तीन हेलिकप्टर कम्पनीलाई निषेधित क्षेत्रको अनुमतिमा भने रोक लगाएको छ । एक महिनादेखि उडान अनुमति नपाएका कारण निषेधित क्षेत्रमा उडान नगरेको व्यवसायीले बताए । अनुमति किन नदिएको बारेमा भने कुनै लिखित जानकारी गराइएको छैन।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।