काठमाडौं, १२ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ ।
११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन । घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।
ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । ‘तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो,’ भट्टले नयाँ पत्रिकालाई भने । तर, अर्को दिन जब निर्मलाको शव फेला प(यो, प्रहरी खोज्दै आएर मगरलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेर लगे ।
दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको भट्ट बताउँछन् । निर्मलालाई खोज्ने क्रममा ५ प्रहरी र करिब ५० स्थानीय खटिएका थिए । प्रहरीले नै स्थानीयलाई समूहमा बाँडे । सबैभन्दा पहिला दीपकले शव देखे र प्रहरीलाई खबर गरे । पछि प्रहरीले ‘तैले कसरी थाहा पाइस् ’ भन्दै उनलाई पनि पक्राउ गर्यो । ‘मैले पहिला शव देखेको भए मलाई नै पक्राउ गर्ने रहेछन्,’ साढे दुई दशकदेखि शिक्षण पेसामा रहेका भट्टले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।