डोल्पाबाट चुनाव लड्दै वामदेव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डोल्पाबाट चुनाव लड्दै वामदेव

bamdev dolpa

काठमाडौं, ६ भदौ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री रहेका डोल्पाका नेकपा सांसद धनबहादुर बुढालाई राजीनामा गराई गौतम उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सांसद बन्न खोजेका हुन् ।

प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित गौतमलाई संसद्मा ल्याउन नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले ग्रिन सिग्नल दिएपछि उनका लागि पर्यटन राज्यमन्त्री बुढा राजीनामा दिएर बाटो खोल्न तयार भएका हुन् । राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी गरेका छन् । बुढा ७ भदौमा डोल्पा जाँदै छन् ।

स्रोतका अनुसार उनले भदौ १२ मा राजीनामा दिने तयारी गरेका छन् । त्यसको पुष्टि उनले मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेका जिल्लाका प्रदेशसभाका सांसद, पूर्वमन्त्री नरबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, केही गाउँपालिकाका अध्यक्षसँगको छलफलमा गरेका हुन् ।

‘उहाँ (राज्यमन्त्री) ले राजीनामा दिने पक्कापक्की भयो, पहिले डोल्पाका दुईतीन वटा गाउँ, नगरपालिका गएर जनतालाई आफ्ना कुरा राख्ने र त्यसपछि काठमाडौं आएर १५ गतेभित्रै राजीनामा दिने सोचमा देखिनुभयो’, डोल्पा १ प्रदेशसभा २ का नेकपा सांसद वीरबहादुर शाहीले भने ।

डोल्पाको विकास निर्माणमा केन्द्रित रहेर मंगलबार राज्यमन्त्रीको कार्यकक्षमा बुढासँग नेकपाका नेताहरूले छलफल गरेका थिए । ‘हामीबीच जिल्लाको विकासमा केन्द्रित रहेर पनि छलफल चल्यो’, प्रदेशसभा सांसद शाहीले अन्नपूर्णसँग भने । राज्यमन्त्री बुढाले ७ गते गृहजिल्ला जाने कार्यक्रम रहेको जानकारी दिए । उनले जनतासँग भेटघाटका लागि जिल्ला जान लागे पनि कार्यक्रमको तालिका भने बनि नसकेको उल्लेख गरे । ‘बिहीबार जिल्ला गई नेताकार्यकर्ता एवं जनतासँग भेटघाट गर्ने योजना छ, कार्यक्रमको सम्पूर्ण सेडुअल बनिसकेको छैन’, अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा मन्त्री बुढाले भने, ‘राजीनामाका विषयसँग सम्बन्धित होइनन, भोलि मन्त्रालयमै आउनुहोस्, त्यहीँ बसेर कुरा गरौंला ।’

बुढाले राजीनामा दिएपछि सरकारले त्यस क्षेत्रमा उपनिर्वाचनका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ । उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने योजनामा नेकपा छ । गौतमलाई सांसद बनाउने विषयमा सोमबारको नेकपा सचिवालय बैठकमा समेत नेताबीचमा सामान्य कुराकानी चलेको थियो ।

नेकपाको ९ सदस्यीय सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम र श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए । गौतम डोल्पाबाट उपचुनाव लड्ने भए पनि श्रेष्ठले भने कसैलाई राजीनामा गराएर चुनाव लड्ने चाहना देखाएका छैनन् । संसद्बाट राजीनामा दिए पनि उनी ६ महिनासम्म मन्त्री पदमा रहन पाउनेछन् । सांसद् नभएका व्यक्तिले बढीमा ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । उनी प्रतिनिधिसभा निर्वाचनमा डोल्पाबाट बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मत पाएका थिए । बुढालाई गौतमकै कारण ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनाइएको थियो । गौतमका छोरा र बुढाको साझेदारी व्यापार छ । यही सम्बन्धका कारण पनि बुढाले गौतमका लागि ठाउँ छाड्न लागेका हुन् । बुढाको राजीनामा र गौतमको उपचुनाव उडने तयारीमा उनीहरू भित्री सहमति भएको बताइन्छ । तर यसबारे दुवै नेता मौन छन् ।

दुई वर्षपछि बुढालाई पुनः राष्ट्रियसभामा ल्याउने, अर्को प्रतिनिधिसभामा गौतमले डोल्पा छाडिदिने सहमति भएको हुन सक्ने अनुमान छ । डोल्पाबाट चुनाव लड्नेबारे प्रतिक्रिया लिन खोज्दा गौतम सम्पर्कमा आउन चाहेनन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);