काठमाडौं, ४ भदौ । चुनावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो ।
नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् ।
साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कँडेल खाजा खाँदै पत्रकारसँग गफिइरहेका थिए । केही समय बसेर उनी आफ्नो कार्यालयतिर लागे । कँडेलमात्र हैन, नेकपाका धेरै नेता, शुभेच्छुक दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् । कांग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेटको पनि दूरी छैन । वल्लो–पल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरू प्रायः एउटै क्यान्टिनमा भेटिन्छन् । खाजा खाँदै एकअर्कासँग बसेर गफिइरहन्छन् ।
दुई ठूला दललाई दर्बिलो गरी जोडेको छ यो क्यान्टिनले । डोटीबाट निर्वाचित नेकपाका सांसद प्रेम आलेमगर सिंहदरबार गएका बेला कांग्रेस संसदीय दलको क्यान्टिनमा प्रायः छिर्ने गर्छन् । खाजा खान यो क्यान्टिन उपयुक्त लाग्छ, उनलाई । ‘धेरै थरीका परिकार पकाइएका हुन्छन्, रोजेर खान पाइन्छ’, उनले अन्नपूर्णसँग भने, ‘मचाहिँ प्रायः फापरको रोटी र मकै खान्छु । यसले स्वास्थ्यमा फाइदा पुर्याउँछ ।’
क्यान्टिन फराकिलो र चहलपहल हुने भएकाले आफू खाजा खान आउने गरेको उनको भनाइ छ । साथीसँग भेटघाट र गफ गर्न पनि उनलाई यही क्यान्टिन सजिलो लाग्छ । ‘जिल्लाबाट आएका मान्छेलाई भेट्नुपर्ने हुन्छ । क्यान्टिनमा बसेर चिया खाँदै गफ गर्न सजिलो हुन्छ’, उनले भने, ‘हाम्रोतिरको क्यान्टिन अलि साँघुरो छ । धेरै परिकार पनि पाक्दैन ।’ नेकपाकै नेता कार्यकर्ता कांग्रेस क्यान्टिनमा आइदिँदा नेकपा संसदीय दलको क्यान्टिन भने दिनभर शून्य हुन्छ । अर्डर गर्ने मान्छे पनि हुँदैनन् । मान्छे नभएपछि खाजा पाक्ने कुरै भएन ।
आफूले धेरै परिकार नपकाएकाले मान्छे नआएको बताउँछिन् एमाले संसदीय दलमा क्यान्टिन चलाएर बसेकी हिमा सुवेदी । उनी दैनिक २÷३ थरी परिकारमात्र पकाउँछिन् । प्रायः फापरको रोटी, मकै र गेडागुडीको तरकारी । क्यान्टिनबाट दैनिक १६÷१७ वटा फापरका रोटी बिक्री हुने गरेको सुनाउँछिन्, उनी । ‘चिया पकाउन ४ पोका दूध ल्याउने गरेको छु, चिया पनि धेरै बिक्दैन’, उनले भनिन्, ‘बस्ने ठाउँ सानो छ । किचेन पनि साँघुरो छ । यस्तो ठाउँमा खासै क्यान्टिन नै चल्दैन । नेताज्यूहरू पल्लो क्यान्टिन (कांग्रेस संसदीय दलको क्यान्टिन) मै जानुहुन्छ ।’
कांग्रेस क्यान्टिनमा भने दिउँसो बस्ने ठाउँसम्म हुँदैन । खाजा खानेको भीड लाग्छ । बस्ने ठाउँ नपाएपछि उभिएरै खाजा खानुपर्ने बाध्यता पनि हुन्छ । क्यान्टिनका ५० वटै कुर्सी खाली हुँदैनन् । छेउमा रहेको खाली जमिनमा उभिएरसमेत खान्छन् ग्राहक । ‘दिउँसो १–३ बजेसम्म त हामीलाई एकछिन बस्ने फुर्सद पनि हुँदैन’, क्यान्टिन चलाउँदै आएका राजाराम श्रेष्ठ भन्छन्, ‘अर्डर लिनुपर्यो, पुर्याउनुपर्यो, पैसा लिनुपर्यो । कामै काम हुन्छ ।’
साउन ३१ बिहीबार बिहान १० बजेतिर उक्त क्यान्टिन पुग्दा फाट्टफुट्ट मान्छे आउन थालिसकेका थिए । राजाराम भन्छन्, ‘कांग्रेसका मात्रै हैन, नेकपाका नेता पनि खाजा खान यहीँ आउनुुहुन्छ । सिंहदरबारमा काम भएर आउने जो–कोही खाजा खान यहीँ पस्छन् । संसद् सचिवालयबाट पनि आउनुहुन्छ । सबैको जमघट गर्ने थलोजस्तो बनेको छ यो ।’
स्वस्थ खानेकुरा पाइने भएकाले पनि आफ्नो क्यान्टिनमा मान्छे झुम्मिने गरेको उनको ठम्याइ छ । नेताहरूको स्वास्थ्यलाई हेरेर खाजा पकाउने गरेको बताउँछन् उनी । ‘नेताहरू विभिन्न रोगबाट ग्रस्त छन् । क्यान्टिनमा देश हाँक्ने नेताहरू आइपुग्छन् । उनीहरूको स्वास्थ्यलाई ख्याल गरेर खाजा बनाउनु पर्छ’, उनले भने । नेताहरू प्रायः मकै, फापरको रोटी, मोही खान्छन् । फापरको रोटी धेरै बिक्छ यो क्यान्टिनमा । पेटलाई फाइदा पुर्याउने भएकाले नेताको रोजाइमा परेको उनको बुझाइ छ ।
राजारामको परिवारले दैनिक २१ थरीका खानेकुरा बनाउँछन् । घट्दा पनि १४ थरी त सधैं पाकेकै हुन्छ । यहाँ पाक्ने फापरको रोटी, मेथीको अचार, लौकाको तरकारी, सिस्नुको साग, मासको बाराजस्ता परिकारले धेरैको ध्यान तान्ने गरेको छ । ‘स्वास्थ्यका लागि फाइदा हुने खानेकुरा पकाउँछौं हामी’, राजारामकी आमा मैया भन्छिन् । मैयाले ०४९ सालतिर यो क्यान्टिन खोलेकी थिइन् । त्यसयता उनको परिवारले सिंहदरबारमा आउनेहरूलाई विभिन्न परिकार बनाएर खुवाइरहेकै छ ।
परिकार राखिएका भाँडा बेलुका ७ बजेसम्म सबै रित्तिन्छन् । दैनिक २ सय गिलाससम्म चिया बिक्छ । ५० गिलासभन्दा माथि त मोही नै बिक्छ । मैया भन्छिन्, ‘हाम्रामा स्वस्थ र मिठो खानेकुरा पाइन्छ त्यसैले त मान्छे आउँछन् र खान्छन् । क्यान्टिन राम्रैसँग चलेको छ ।’
कांग्रेस संसदीयदलको कार्यालयमा रहेको यो क्यान्टिन २०४९ सालमा खुलेको हो । मैया श्रेष्ठका पति काशिराम सिंहदरबारस्थित संसद् सचिवालयका घनिष्ठ कर्मचारी थिए । त्यसैले उनले ठुल्ठूला नेतालाई चिनेका थिए । नेताहरूले पनि उनलाई चिन्थे । परिवार चल्न गाह्रो थियो । नेताहरूले सहानभूतिपूर्वक मैयालाई क्यान्टिन खोल्न अवसर दिए ।
‘यहाँ आउनुअघि आमाले रत्नपार्कमा काँक्रोलगायत फलफूल बेच्नुहुन्थ्यो नाङ्लामा’, मैयाका छोरा राजारामले भने, ‘यहाँ क्यान्टिन चलाउन पाएपछि खानेकुरा पकाएर बेच्न थाल्नुभयो ।’ त्यतिबेला मासु, रोटीलगायत ७/८ परिकार पकाउँथिन् मैया । २०७१ सालसम्म मासु पाक्ने क्यान्टिनमा हिजोआज पाक्दैन । त्यतिबेला यहाँको विशेष खाजा नै कुखुरा र खसीको मासु थियो । ‘ग्रेभी’ मासु र रोटी खान्थे नेताहरू । ‘खाजाका लागि मासु पकाउँथे । मान्छेहरू मासु र रोटी मिठो मानेर खान्थे’, मैयाले भनिन् । मासुले स्वास्थ्यलाई फाइदा नहुने भन्दै अहिले मासु पकाउन छाडिएको छ । ‘पकाएपछि खान मन लाग्छ । खाएपछि रोग लाग्छ । पकाउनै छाडिदिऔं । अरू पनि निकै थोक बनाएकै छौं । आफूलाई जेले फाइदा गर्छ त्यही खानुपर्छ’, उनले भनिन् ।
खासमा आफ्नोभन्दा नेताहरूको स्वाथ्य हेरेका हुन् उनीहरूले । मासु नपाकेर के भयो, थरीथरीका परिकार पाकेकै छन् । ग्राहक पल्किएकै छन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।