काठमाडौं, २ भदौ । घुमन्ते कर्मचारीको रोजाइमा युरोप, अमेरिका र अस्ट्रेलिया परेका छन्। उनीहरूले सार्कबाहेकका एसियन देशको पनि भ्रमण गरेका छन्। एक वर्षको अवधिमा कर्मचारीका फरकफरक समूहले विभिन्न देशमा ४ हजार ९ सय १६ पटक भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीका सार्कबाहेक एसियाली राष्ट्रमा १ हजार ५ सय ८७ पटक भ्रमण गरेका छन्। कर्मचारीले युरोपका विभिन्न देशमा ५ सय ५४ पटक भ्रमण गरेका छन्। यस्तै उत्तर अमेरिकी राष्ट्रमा २ सय ५५ र अस्ट्रेलियामा १ सय ६१ पटक भ्रमण गरेका छन्। कार्यालयका अनुसार कर्मचारीले भारतको ९ सय २ पटक भ्रमण गरेका छन्। चीनमा ८ सय ५५ पटक भ्रमण गरेका छन्। यस्तै भारतबाहेकका सार्क राष्ट्रमा ५ सय १४ पटक भ्रमण गरेका छन्। कर्मचारीले अफ्रिकी मुलुकमा ५३ र दक्षिण अमेरिकी राष्ट्रमा ३५ पटक घुमेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
गत आव २०७४-७५ मा २२ मन्त्रालय, केन्द्रीय निकाय, आयोग र नियोगका गरी ५ हजार ११ कर्मचारीले विदेश भ्रमण गरेका थिए। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र निकायसँग भ्रमणको सम्पूर्ण विवरण मागेर अध्ययन गरिरहेको छ। एक वर्षमा कर्मचारीले ४५ हजार ६ सय ५७ दिन बिदेशमा बिताएको उसको भनाइ छ।
कार्यालयले कर्मचारी गएका देश, भ्रमण संख्या र खर्चको विवरण निकालिरहेको छ। विदेश गएका कर्मचारीको भ्रमण मुलुकका लागि उपलब्धिमूलक भए नभएको विषयमा समेत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।