काठमाडौं, ३० साउन । सांसदहरुले मोरङको एक विद्यालयको पीउने पानीको ट्याङ्कीमा विष मिसाउनेमाथि हदैसम्मको कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद घनश्याम खतिवडाले घटनाको तत्काल सत्यतत्थ्य छानविन गरी दोषीलाइै हदैसम्मको कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले घटनाको समयमा लेटाङ नगरपालिका स्थित इलाकाप्रहरी कार्यालयको एउटा गाडीसमेत चल्न नसक्ने अवस्थामा रहेको खबर आउन दुखदायी भएको भन्दै प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन ध्यानाकर्षण गराए ।
मंगलबार मोरङ क्षेत्र नम्बर १, लेटाङ नगरपालिकाको श्री जाँते माविका विद्यार्थीमा पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले जाँच गर्दा पिउने पानीको ट्यांकीमा बिषको बोतल नै फेला परेको थियो । बिषाधीयुक्त पानी पिउँदा २६ जना विद्यार्थी विरामी परेका थिए ।
सांसद प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नम्बर १ को वडा नम्बर १०, ११ र २९ मा धोवीखोला र बागमती नदीको बाढीले ठुलो क्षति पुर्याएको भन्दै उपयुक्त राहत र क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले बाग्मति सभ्यता र धोवीखोला करिडोर निर्माण संरचना समयमै पुरा गर्नतर्फ गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराए ।