काठमाडौं, २६ साउन । सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्दै सभामुख महराले दिगो विकास लक्ष्य २०३० पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताए ।
उनले भने विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो । यसै सहश्राब्दी विकास लक्ष्यको जगमा दिगो विकास एजेण्डा २०३० पारित गरिएको छ । दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हाँसिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
विकासको साझा मुद्दामा सबै एक ठाउँमा उभिए मात्रै लक्ष्य प्राप्त हुने र त्यसको नेतृत्व युवाहरुले लिनुपर्ने उनले बताए । ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुई दिने ‘एसियन युथ एसेम्ब्ली २०१८’ मा २३ वटा एसियाली मुलुकका प्रतिनिधिहरु सहभागी छन् ।




