काठमाडौं, २६ साउन । तीन वर्षअघिको महाभूकम्पपछि स्क्रब टाइफस रोग पनि हाम्रो मुलुकमा एक्कासि अस्तित्वमा आए जस्तो भयो । त्यस बेला सयभन्दा बढी बिमारी भए । कैयौँको मृत्यु पनि भयो । त्यसयता यो रोगले नेपालीलाई दु:ख दिइरहेको छ । अहिले फेरि टाउको उठाइरहेको छ ।
कुनै पनि समय यो संक्रमणले महामारीको रूप लिन सक्ने चेतावनीसमेत विशेषज्ञहरू दिइरहेका छन् ।
केही वर्षमै यो संक्रमण करिब–करिब मुलुकभरि नै फैलिइसकेको छ । सरकारको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार, सन् २०१८ को यो अवधिसम्म २७ जिल्लामा यो संक्रमण देखिसकिएको छ । सन् २०१६ मा यो संक्रमण ४८ जिल्लामा भेटिएको थियो । तीन वर्षयता यो संक्रमणले ३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक भए पनि वास्तविक संख्या योभन्दा धेरै बढी हुन सक्ने विज्ञहरू दाबी गर्छन् ।
स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइका कारण फैलिन्छ । यो कीरा मुख्यत: खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।
स्क्रब टाइफस केही वर्षअघि सुरु भएको रोग होइन । दोस्रो विश्वयुद्घताका समेत यो क्षेत्रमा संक्रमण देखिएको चिकित्सा तथ्यपत्रहरूमा उल्लेख रहेको औंल्याउँदै इपिडिमियोलजीका निर्देशक डा. विवेककुमार लाल हाम्रो मुलुकमा भुइँचालो आएपछि धादिङतिर बढी मात्रामा मुसा देखिन थालेसँगै यो संक्रमण जनसाधारणको ‘नोटिस’ मा आएको जनाउँछन् ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डे हालको अवस्थामा यसले कुनै पनि बेला महामारीको रूप लिन सक्ने दाबी गर्छन् । टेकु अस्पतालकै डा. शेरबहादुर पुनका अनुसार, स्क्रब टाइफस रोग निदान नभएर मल्टिपल अर्गेन फेल्योर (विभिन्न अंगले काम गर्न छोड्नु), निमोनियालगायत विभिन्न जटिलताले मृत्यु हुनेहरू, सरकारी तथ्यांकको दाँजोमा, धेरै बढी छन् ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एसियामा यो संक्रमणले बर्सेनि करिब १० लाख व्यक्तिलाई प्रभावित गर्ने गरेको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।