काठमाडौं, १७ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेशन बिनाको लिग आयोजना गर्ने निर्णयमा कुनै पनि फेरबदल नहुने जनाएको छ ।
रेलिगेशन बिनाको लिगले नेपाली फुटबललाई पछाडी धकेल्ने र विकृती सिर्जना गर्ने भन्दै निर्णय परिवर्तनका लागि एन्फालाई चौतर्फी दबाब आइरहेका बेला एन्फाले आफ्ना निर्णयबाट पछाडी नहट्ने बताएको हो ।
एन्फाले फुटबलको संक्रमणकालीन अवस्थाको कारण देखाउँदै असोजको दोस्रो साताबाट रेलिगेशनबिहिन शहीद स्मारक ए डिभिजन लिग गर्ने निर्णय गरेको छ । एन्फाले बी डिभिजनबाट बढुवा भएका च्यासल र एनआरटी क्लबलाई समावेश गर्दै लिगमा १४ टोली सहभागी गराई सिजन लिग गर्ने तयारी गरेको छ ।
तर लिग सुरु हुन मात्र अब दुई महिना बाँकी रहँदा खेलाडीहरुको अनुबन्धनमा भने क्लबहरुले खासै चाँसो देखाएका छैनन् । एन्फा प्रवक्ता किरण राईले लिगलाई मर्यादित र अर्थपूर्ण बनाउन एन्फाले आन्तरिक गृहकार्य गरिरहेको बताउँदै रेलिगेशन नहुँदैमा सिजन लिगमा कुनै असर नपर्ने दाबी गरेका छन् ।