चितवन, १२ साउन । भूकम्पका कारण जोखिमा परेका चितवनको विभिन्न स्थानका ५२ घरपरिवारलाई सुरक्षित स्थानमा स्तानान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय चितवनका अनुसार जाखिम क्षेत्रमा रहेका १ सय २ घरपरिवार मध्ये ५२ घरपरिवारलाई स्तानात्तरण गर्न लागिएको छ ।
कार्यालयका प्रमुख पुष्कर पोखरेलले चितवनको राप्ती नगरपालिका–१२ वकराङका तीन घरलाई बिम्पुकमा र वडा नम्बर १३ को एसिखाईका १३ घरलाई कालिटारमा स्थानान्तरण गर्न लागिएको जानकारी दिए । त्यस्तै इच्छाकामना गाउँपालिका–४ तीनघरेका पाँच परिवारका लागि लेवाटारमा घर निर्माण अन्तिम चरणमा पुगेकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सुजन नेपालले जानकारी दिए ।
इच्छाकामना–२ हेप्चेकका १० घरपरिवारलाई भने दुम्कीमा स्थानान्तरण गर्न लागिएको छ । यस्तै इच्छाकामना–३ धुषाका २० घरलाई कुरिनटारमा र कालिका नगरपालिका–१ मैतेसको एक घरलाई सोही स्थानको सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको छ । अझै ५० घरको विषयमा भने छलफल चलिरहेको जनाइएको छ ।
इच्छाकामना–२ कुँयलघारीका ३६ घरमध्ये १८ घर आफैं सिमलघारीमा सरेका र १८ घरको विषयमा छलफल चलिरहेको जनाइएको छ । यस्तै इच्छाकामना गाउँपालिका–३ धुसाका ११ घर, हेप्चेकका तीन घर, राप्ती नगरपालिका–१२ को एक घरको विषयमासमेत छलफल चलिरहेको प्राधिकरणले जनाएको छ ।