काठमाडाैं, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएकाे घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मलेन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले बंगलादेशमा पढेका महिला डाक्टरका बारेमा बोलेका कुराको पश्चताप गरेका छन् । उनले छोरीको पक्षमा वकालत गरेका छन् । आफूले बोलेको भन्दा टाउको र खुट्टो जोडेर यस्तो खबर आएकोमा आफु दु:खी भएको उनले बताए ।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सक अध्ययन गर्न गएका नेपाली चेलीहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य भएको अभिव्यक्ति दिएर विवादीत बनेका थिए । सोही विषयमा पार्टी भित्रैबाट चर्को आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
उनले मन्त्रालयमा नै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिन्थे । मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो।
आफ्नै अभिव्यक्तिका कारण आलोचित भएका मन्त्री तामाङले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत् राजीनामा घोषणा गरेर प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका छन् । पत्रकार सम्मेलनमा उनी पत्नी उषाकला राईसँगै थिए । उनले आफूलाई विवादमा तान्ने गम्भिर षडयन्त्र भएपछि नैतिकताको आधारमा पदबाट राजीनामा दिएको स्पष्ट पारे ।
उनले आफूले जीवनभर महिला अधिकारको लागि काम गरेको तर त्यसैलाई विषय बनाएर आलोचना गरिएको उल्लेख गर्दै यस्तो आरोप कसैले पनि भोग्न नपरोस् भन्ने कामना समेत गरे ।
त्यस अवसरमा मन्त्री तामाङले आफूले पदवहाली भएयताका कामको विवरण पनि सार्वजनिक गरेका थिए । उनले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई आफूले तीव्रता दिएको, मुलुकको समृद्धिका लागि भ्रष्टाचार अन्त्यमा जोड दिएर कानुन निर्माणको कामलाई अघि बढाएको बताए ।