काठमाडौं, ७ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्र्रधानन्यायाधीश जोशीको सुनुवाई आगामी बिहिबार गर्ने निर्णय गरेको हो । सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानवीनसुरु गरेको छ ।
भोली उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानवीनको काम सूरु गरेको हो । जोशीविरुद्ध ५ वटा उजुरी परेका छन । उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
समितिको गत श्रावण ३ गते बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।